१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


नवलपुरका युवाहरु माछापालनतर्फ आकर्षित


0
Shares

-विवेक भण्डारी/ईमेज

काठमाडौं । राम्रो कमाइ हुन थालेपछि नवलपुरका युवाहरु माछापालनतर्फ आकर्षित हुन थालेका छन् ।

माछापालनका लागि नवलपुर उत्कृष्ट रहेको र यसबाट मनग्ये आम्दानी हुन थालेपछि यसतर्फ थप आकर्षण देखिएको हो ।

माछाका लागि वातावरण पनि अनुकूल र कमाइ पनि राम्रै हुने देखेपछि नवलपुरका युवाहरु अरु पेशा छाडेर माछापालनमा आकर्षित भएका छन् ।

नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि पनि यहाँका युवाहरु यसतर्फ आकर्षित भएका हुन् । अहिले पाँचसय विघा भन्दा बढी क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको छ ।

देवचुली नगरपालिकामा माछा फर्म संञ्चालन गरिरहेका हेमराज घिमिरेले वार्षिक १५ लाख रुपैयाँको हाराहारीमा कमाइ गरिरहेका छन् ।

रोजगारी कतै नभेटेपछि विदेश भासिएका घिमिरे त्यहाँ पनि सोचेजस्तो प्रगति नभएपछि स्वदेश फर्की माछापालनमा लागेको बताउँछन् ।

माछापालनबाट राम्रो प्रगति गरेको देखेपछि पुरुष मात्र होइन महिलाहरु पनि माछा फर्म खोलेर बसेका छन् ।

गैडाकोट, मध्यविन्दु र देवचलीक नगरपालिकाका  महिलाहरु  अझ बढी यसतर्फ आकर्षित भएका छन् ।

देवचुली नगरपालिका १३ की निर्मला दाहाल  पनि माछापालनबाट सबै खर्च कटाएर वार्षिक  १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी छिन् ।

पहिले प्रोजेक्टमा काम गर्दै आएकी उनी आफै केही गर्नुपर्छ भन्ठानेर यसतर्फ होमिएकी हुन् र यसबाट उनी निकै सन्तुष्ट देखिन्छिन् ।

माछा पालनका लागि जिल्लाको देवचुली नगरपालिकालाई पकेट क्षेत्र र मध्यविन्दु नगरपालिलाई ब्लकका रुपमा छुट्याइएको छ ।

नेपाल मत्स्य व्यवसायी संघका अनुसार अहिले नवलपुरमा वार्षिक तीन सय टन माछा उत्पादन हुँदै आएको छ ।

उत्पादन राम्रो हुन थालेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

जिल्लामा पहिले ४ सय बिगाह क्षेत्रफलमा सीमित माछापालन अहिले बढेर ५ सय बिगाहभन्दा बढी पुगेको नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय सहसचिव इन्द्रमणी भुसालको भनाइ छ ।