
नारायण ढुंगाना (रासस)
काठमाडौं, साउन १५ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यानकेन्द्रित गर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा पदभारग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भने–‘तपाइँहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु ।’
केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘हामी जे गर्न सक्छौं, त्यो कुरा भन्छौं । जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढंगले बताउने छौं ।’
निर्देशन कम हुने र सामूहिक निर्णयबाट अघि बढ्ने बताउँदै उनले प्रधानमन्त्रीले राखेको आशा र अपेक्षा पूरा गर्ने उल्लेख गरे ।
कुनै पूर्वघोषित कार्यक्रम नभइ परिस्थितिले आफू मन्त्री हुन आइपुगेको प्रष्ट्याउँदै उनले कसैलाई काम लगाउन होइन, काम सिक्न आएको बताए ।
राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए ।
मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री भट्टराईको भनाइ थियो ।
नेपाल वायुसेवा निगमको विश्वसनीयता कायम गर्नेसमेत उनले प्रतिबद्धता जनाए ।
सन्चारमाध्यमलाई कुनैपनि बधाइ नछाप्न अनुरोध गर्दै उनले मन्त्रीकारुपमा नियुक्तिका लागि सहयोग गर्ने पार्टीका नेतृत्वप्रति आभार प्रकट गरे ।
अधिकारीको उत्तराधिकारी भएर आएको छु
मन्त्री भट्टराईले वि.सं. २०७५ फागुन १५ गते तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको दुःखद् निधनले असल युवा राजनीतिकर्मी र घनिष्ट मित्र गुमाएको स्मरण गरे ।
उनले परिस्थिति र घटनाक्रमले अधिकारीको कुर्सीमा आफू आइपुगेको बताए ।
‘यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो । प्रधानमन्त्रीले सही चयन गर्नुभएको थियो । अफसोच ! प्रकृतिसँग हामीले जित्न सकेनौं र उहाँलाई अल्पआयुमै गुमाउन पुग्यौं । उहाँको एउटा उत्तराधिकारीजस्तो भएर म आएको छु । यसोभन्दा मलाई कुनै हिनताबोध छैन, गर्व छ’–मन्त्री भट्टराईले भने ।
अधिकारीले यो मन्त्रालयमा जे कदम उठाएका थिए, त्यो कामलाई आगामी दिनमा अझै माथि बढाउने विश्वास व्यक्त गर्दै उनले यसअघि जिम्मेवारी सम्हालिसकेकाको सल्लाह लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चारजगत्सँग सँगसँगै
मन्त्री भट्टराईले आफू सञ्चारजगत्सँग नभाग्ने प्रतिबद्धता जनाए ।
सञ्चारजगत्बाट नभागी सँगसँगै अघि बढ्ने बताउँदै उनले आजको दिनमा मिडियाको भूमिका ठूलो रहेको उल्लेख गरे ।
देश बनाउने अभियानमा सञ्चारमाध्यमको सहयोगी भूमिका रहने उल्लेख गर्दै भने–‘हामी तपाइँहरुको निगरानीमा छौं । म अपेक्षा गर्दछु कि देश बनाउने दायित्व प्रधानमन्त्रीको, मन्त्रीको, मन्त्रालयका सचिव या कर्मचारीकोमात्रै होइन, हामी सबैको हो । सञ्चारकर्मीको पनि हो ।’
व्यक्तिगत र गोप्य कुराबाहेक पत्रकारका निम्ति मन्त्रालय सधैं खुला रहेकोसमेत उनले बताए ।
आजको दुनियाँ पारदर्शी र जवाफदेही रहेको, संविधानतः प्रधानमन्त्री र संसदप्रति एकसाथ जवाफदेही रहेकाले हर काम सहभागितामूलक हुने उनको भनाइ थियो ।
मन्त्रालयका काममा केही चुनौती रहेको बताउँदै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाएरै छाड्ने जिकिर गरे ।
‘सन् २०२० को जुन लक्ष्य छ, हामी पुग्छौं । त्यसका निम्ति मन्त्रालयको सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्छौं । कहाँ–कहाँ कमजोरी छ, त्यसलाई सच्याएर जान्छौं’–मन्त्री भट्टराईले थपे ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजना सके समयभन्दा पहिले नै भएन भनेपनि तोकिएको समयभित्र सम्पन्न गरी आउने भ्रमण वर्षलाई सफल बनाउने गरी अघि बढ्ने बताउँदै भने–‘प्रगति कहाँ पुगेको छ, छलफल गर्छौं । सहमति जुटाउने प्रयास गर्छौं । भएका आशंका मेटाउने गरी सकेसम्म आउने कार्यकालमै सम्पन्न गर्नेछौं ।’
त्यो काम अति आवश्यक र निर्विकल्प रहेकोसमेत मन्त्री भट्टराईको भनाइ थियो ।
वाह ! नेपाल एअरलाइन्स भन्ने बनाउँछौं
नेपाल वायुसेवा निगममाथि टिप्पणी भइरहेको अवस्थामा त्यसको विश्वसनीयतालाई माथि उठाउने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टराईले भने–‘वाह ! नेपाल एअरलाइन्स भन्ने बनाउने छौं । त्यसका निम्ति छलफल अगाडि बढाउने छौं ।’
अन्य आन्तरिक विमानस्थलको सुदृढीकरण, विस्तार गरी निजी सहयोगी संस्थासँग हातेमालो गरेर अघि बढ्ने उनले उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले मन्त्री भट्टराईको आगमनले ‘समुद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले मन्त्रीको कार्यकाल मन्त्रालयका लागि स्वर्णिम बन्ने उल्लेख गर्दै मुलुकको संस्कृति र अर्थतन्त्रमा निकै महत्व राख्ने मन्त्रालय भएको जानकारी गराए ।
नेपालको अर्थतन्त्रको दोस्रो योगदानकर्ता क्षेत्रकारुपमा केही नयाँ नीति लिएर अघि बढेको भन्दै उनले नेपाली जनतालाई आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने लक्ष्यकासाथ नीति–नियम सुधारको चरणमा र वायुसेवा निगमको कार्यक्षेत्र विस्तारको अभियानमा मन्त्रालय लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्