
काठमाडौं, साउन १५ । काठमाडौंको बागबजारस्थित खसीबजारमा सन्चालनमा रहेको तरकारी बजारमा बुधबार व्यवसायी र एउटा सहकारीका व्यक्तिहरुबीच झडप भएको छ ।
हरित कृषि सहकारीका प्रतिनिधिहरु गइ तरकारी व्यवसायीबाट जबर्जस्ती रकम उठाउन थालेपछि झडप भएको हो ।
त्यसक्रममा सहकारी पक्षधरले लगेका व्यक्तिहरुले व्यवसायीमाथि सांघातिक हमलाको कोसिससमेत गरेको व्यवसायीहरुले बताएका छन् ।
उक्त सहकारीले तकारी बजार सन्चालनका लागि लिएको ठेक्का समाजकल्याण परिषदले रद्द गरी व्यवसायीहरुसँग सीधै सम्झौता गरिसकेको अवस्थामा सहकारी पक्ष अनधिकृतरुपमा रकम उठाउन आएको व्यवसायीहरुको भनाइ छ ।
कुनै टेन्डरबिना तरकारी बजार सन्चालनको ठेक्का लिएको हरित कृषि सहकारीले १६ महिनाको अवधिमा व्यवसायीहरुबाट दुई करोड रुपैयाँभन्दा बढी रकम उठाइसकेको छ ।
सो सहकारीका अध्यक्ष कुमार तिमिल्सिनाले आफूहरुसँग सबै हिसाब–किताब रहेको भन्दै आफूहरुले कानुनी उपचार खोज्ने बताए ।
सहकारी पक्ष र तरकारी व्यवसायीहरुबीचको झडपपछि दुवै पक्षलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार लगिएको थियो ।
सहकारी पक्षले व्यवसायीबाट उठाएको रकमको हिसाब बुझाउने सहमतिमा दुवै पक्षलाई छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्