नेपाली राजनीतिले नयाँ मूलबाटो खोजेको छ « Image Khabar


नेपाली राजनीतिले नयाँ मूलबाटो खोजेको छ


Imagekhabar
१० मंसिर २०७७, बुधबार ०९:५३

-हरिविनोद अधिकारी

नेपालको शासन प्रणालीमा अहिले सत्तासीन नेपाल कम्युनिस्ट पार्टी( नेकपा)भित्रको दुईओटा अध्यक्षका बिचमा देखिएको आपसी टकराबको समस्याले मुलुक नयाँ राजनीतिक मोडमा उभिएको छ । स्थिर सरकारको चाहनामा जनताले संसदमा स्पष्ट वहुमतसहितको सरकार बनाउने जुन अवस्था सृजना गरेका थिए, त्यसको अवमूल्यन गरेको ठानिँदै छ । हुन त सरकारको बनावट र त्यसअघिको राजनीतिक स्थितिको मूल्याङ्कन गर्दा पहिले एकीकृतरुपमा गठित (एमाले र माओबादी केन्द्रको एकता)का बिचको सैद्धान्तिक असहमतिका बिचमा सत्ताका लागि मात्र भएको एकताले अहिले परिणाम दिन थालेको हो ।

आन्तरिक ईष्र्या, प्रतिशोध र कुण्ठाले पनि काम गरेको छ आपसी टकराबका लागि भन्ने कुरा स्पष्ट हुँदैछ । जे भए पनि हामी अहिले प्रजातान्त्रिक व्यवस्थामा छौं । घोषित साम्यवादी व्यवस्थामा छैनौँ र त्यस्तो सम्भावना पनि देखिँदैन । हुन त अन्तर्राष्ट्रिय दबाब र खेलको लागि हामीले प्रशस्त ठाउँ दिएकै छौँ किनभने हाम्रा प्रधानमन्त्री देखि निर्णायक व्यक्तित्वहरुका खोपीहरुमा विदेशी कूटनीतिज्ञहरुका लागि रातो कार्पेट ओछ्याइएको छ । सबै दलमा यो बाहिरी दबाबको नाङ्गो नाच पारदर्शीरुपमा नै देखिएकै छ ।

हामीले प्रजातान्त्रिक या लोकतान्त्रिक शासन व्यवस्थाको कल्पना गर्दा नै या भनौँ गणतन्त्रात्मक संविधानको कल्पना गर्दा नै प्रजातन्त्रलाई भने शासकीय प्रणालीको आधार मानेका थियौँ । त्यो कल्पनालाई असफल गराउन धेरै प्रयास भए, राष्ट्रिय र अन्ताराष्ट्रियस्तरबाट । तर ती विभिन्न समयमा देखिँदै र हराउँदै तर सबै पन्छिएर आजको शासन व्यवस्थामा छा । नेपालको महत्तालाई स्वीकार गर्ने प्रजातन्त्र भनेको संवेदनशील शासन व्यवस्था हो । यो जनताको प्रत्यक्ष मतबाट निर्वाचित या प्रत्यक्ष मतबाट निर्वाचितहरुको समूहबात प्रत्यक्ष नियन्त्रणमा रहेको शासन प्रणाली हो । यो शासन प्रणाली गतिशील पनि हुन्छ, प्रगतिशील पनि हुन्छ । जनमतबाट नियन्त्रण हुन्छ । जनताको मायाबाट तयार भएको आवधिक संसद र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा हुने शासन भएकाले नै जनताद्वारा, जनताका लागि, जनताले नै शासन गर्ने भन्ने अब्राहम लिङ्कनको भनाइलाई नै अहिले पनि हामी आधार वाक्यका रुपमा लिने गर्छौ।

लिङ्कनपछि धेरै प्रजातन्त्रका महान सिद्धान्तकार र अभ्यासकर्ताहरु आएर आदर्श शासनको नमुना प्रस्तुत गर्दा पनि हामी अझै पनि उनैको त्यो आधार वाक्यलाई प्रजातन्त्रको आदर्श स्वरुपको भनाइ मान्ने गरेका छौँ । अर्थात् प्रजातन्त्र एउटा सुन्दर त्यस्तो शासन व्यवस्था रहेछ जहाँ सहिष्णुता र सहमतिका आधारमा विरोध र समर्थनको समिश्रित स्वरुप पाइलैपिच्छे अभ्यास गरिएको हुन्छ । विपक्षीको उपस्थिति, सरकारका कमी कमजोरीको वारेमा निगरानी गर्ने शासकीय व्यवस्था जसले निष्पक्ष न्यायको प्रत्याभूति गरेको हुन्छ र त्यो पनि सरकारको एउटा महत्वपूर्ण अङ्गको रुपमा स्वीकृत गरिएको हुन्छ ।

दुईओटा फरक फरक आधारभूमिबाट राजनीतिमा अभ्यासरत समूहहरु शासन प्रणालीको मूलधारमा प्रवेश गरेका नेकपाको दुई समूहका नेताहरुको अहिलेको व्यवहारले मुलुक नयाँ सङ्कटमा प्रवेश गरेको हो । दुईओटा धारमा बाँडिएका र दुईओटा अवधारणाबाट डोरिएका दुई धारले कस्तो अवस्था आउँछ भन्ने कुरा एउटा नीतिकथाबाट झझल्को पाउन सकिन्छ । नीतिकथा यस्तो छ-नीति कथामा एउटा उदाहरण दिइएको छ कथामार्फत दोधारको सिद्धान्त कस्तो हुन्छ भनेर । एउटा समुद्रमा भाण्डारक नामको हाँस बस्थ्यो जसका दुईओटा मुख थिए । अरु सबै त एउटै थिए , कतिसम्म भने पत्नी पनि एउटै थिई किनभने त्यो हाँसको मुखमात्र दुईओटा थिए, अरु त एउटै शरीर र अरु अवयवहरु पनि एउटै हुने नै भए । दुईओटा मुख हुँदा मस्तिष्क पनि दुईओटा हुने नै भए । एकदिन घुम्दै जाँदा समुद्रमा एउटा अमृत फल प्राप्त भयो र एउटा मुखपट्टिका आँखाबाट त्यो देखियो । अनि एउटा मुखले त्यो क्वाप्प टोक्यो र अर्को मुखलाई भन्यो-हे अर्कोमुख, मैले आज अमृत फल फेला पारेँ । अनि अर्को मुखले मुख मिठ्याउँदै त्यो फल चाख्नका लागि दिनु भन्ने बित्तिकै त्यो मुखले भन्यो-हाम्रो एउटै पेट हो, एउटै शरीर हो अनि किन चाख्नुपर्‍यो र ? बरु केही खाएर म हाम्री पत्नीलाई चाख्नका लागि जतनका साथ राख्नेछु । नभन्दै त्यो मुखले अर्को मुखलाई त्यो अमृत फल चाख्न पनि दिएन , खान त कता हो कता । अर्को मुखले खान नपाएपछि एकदम दिक्क भएकाले चुपचाप बसेको थियो धेरै दिनसम्म । त्यस्तै गरी समुद्रमा एकदिन घुम्दाघुम्दै अर्को मुखले विषफल प्राप्त गर्‍यो । अनि त्यो अर्को मुखलाई भन्यो-मैले त विष फल पाएँ अर्को मुख । अब म त्यो फल एक्लै खान्छु । अर्को मुख डराएर भन्न थाल्यो-ए अर्को मुख, नखा न भनेको । हाम्रो एउटै पेट हो, त्यो विषले त म पनि मर्छु नि । नखा । तर भाण्डारक हाँसको एउटा मुखले विष फल निल्यो । अनि के भयो , भन्नै परेन जस्तो लाग्छ ।

अहिले नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी( नेकपा)को अवस्था करिब करिब त्यस्तै छ । कोरोना कहरका बिचमा सत्तारुढ दलको भित्र देखिएको सीमाविहीन विवादको परिणामका वारेमा उपर्युक्त नीति कथाको परिणामका वारेमा सोच्ने बेला भएको छ । यति ठुलो दायित्व नेपाली जनताले दिएका छन् तर नेपालको राजनीतिक अवस्था झन झन तरल हुँदै गएको छ । संघीय संसदमा दुई तिहाईको नजिक सांसदहरुको शक्ति आर्जन गरेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थिति धेरैओटा दलहरुको संयुक्त मोर्चाको रुपमा देखिएको छ । कुनै ठोस निर्णय गरेर जनताको स्वास्थ्यसम्बन्धी हकको पालना गर्न सकेको देखिँदैन । यो विश्वव्यापी महामारीमा कुनै त्यस्तो तयारी देखिएन जसले जनताले भोलिको जीवन सहज हुने कुरामा विश्वस्त हुने ठाउँ पाऊन् ।

नेपाली जनता को प्रधानमन्त्री, को सभामुख या को कुन पदमा छ भन्ने कुरा संविधानबमोजिम होस् र त्यो विधिले निर्धारण गरेका तरिकाले होस् भन्ने ठान्दछन् तर जनताको मतले छानिएका दलहरुका प्रतिनिधिहरुले जुन तरिकाले शासन चलाइरहेका छन् , त्यो देख्दा भविष्य नभएको देशको रुपमा आपूmलाई पाएका छन् । जनता आपसको लुछाचुँडीमा भन्दा पनि सुशासन चाहन्छन् । अहिलेको अवस्थामा बाँच्न चाहन्छन् । अप्ठ्यारो परेको बेलामा सरकारले अभिभावकको भूमिका निर्बाह गरोस् भन्ने नै चाहन्थे र अझै चाहन्छन् । तर सरकार र सरकारसँग सम्बन्धित सत्तारुढ दल, कोरोना कहरलाई सरकारका तर्फबाट सकेसम्म सहजीकरण गरेर जनताको बाँच्न पाउने हक र संविधानले प्रत्याभूत गरेका जीवन दायिनी अधिकारहरुको, ती अधिकारसँग सम्बन्धित मौलिक हकहरुको अभ्यास गर्नुभन्दा आपसमा विवादको आत्मरतिमा अलमलिएको देखिन्छ ।

नेकपाका दुईओटा अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डहरुको अकस्मातको एकतादेखिको पत्राचारमार्फत् आरोपपत्रसमेतको विश्लेषण गर्दा भाण्डारक हाँसको कथाको पुनारावृत्ति होला कि जस्तो देखिएको छ । शासनका बस्ने नेकपाको शासकीय क्षमता र आपसको दन्तबझान अनि विपक्षको प्रजातन्त्र जोगाउने कुनै प्रयास नहुँदा के नेपालमा प्रजातन्त्र अफाप हुन थालेका हो त ? प्रश्न उठ्नु स्वाभाविकै हो ।

अमेरिका जस्तो देशमा पराजित राष्ट्रपतिको उम्मेदवार (जो राष्ट्रपतिमै छन् डोनाल्ड ट्रम्प)ले आफू हार्दा पनि हार नमान्नुले पनि प्रजातन्त्रको भविष्यमा प्रश्न उठ्न थालेको छ । हुन त जनताको बलभन्दा ठुलो बल प्रजातान्त्रिक राजनीतिमा अरु हुँदैन तर पनि संसारभर नयाँ नयाँ हठबादीहरु र प्रजातन्त्रका नाममा प्रजातन्त्रलाई नै निमिट्यान्न पर्ने नियतले स्वयं प्रजातन्त्र आक्रान्त हुन थालेको छ । प्रजातन्त्र आक्रान्त हुन भनेको प्रजातन्त्रप्रति आस्था राख्नेहरुको तेजोबध गर्नु हो ।

अबको राजनीतिक विश्लेषण यस्तो हुने भयो-यदि मिलेर वहुमतीय प्रजातान्त्रिक शासन प्रणाली चलाउन नेकपा अक्षम भएकै हो र मिलेर बस्ने अवस्था छैन भने सल्लाहले नै वा संसदीय दलमा अल्पमत र वहुमतको टाउको गनेर स्थितिलाई सहजीकरण गर्नु पर्ने बेला भएकै हो । मिलेर बस्न नसक्दा सधै जनतालाई बाघ आयो बाघ आयो भने झुक्याउनु जरुरी छैन । प्रजातन्त्रको रक्षाका लागि प्रमुख विपक्षी नेपाली काँग्रेसले पनि राजनीतिक हस्तक्षेप गर्ने हैसियत देखाउनु पर्छ । संसदबाट समाधान गर्नुपर्छ, नभए ताजा निर्वाचनले नयाँ अवस्था सृजना हुनसक्छ । अस्थिरताको गन्तव्यहीन यात्राभन्दा नयाँ नयाँ बाटोको खोजी अवश्यंभावी छ । आगे नेपाली जनताको मर्जी ।

प्रतिक्रिया दिनुहोस्