१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बिमाका लागि संक्रमितको नाम रुजु


0
Shares

काठमाडौं, मंसिर ८ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोरोना (कोभिड–१९) को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ ।

यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुआत गरेको हो ।

बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ ।

रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ ।

समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।

“सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ”, समितिका संयोजक अधिकारीले भन्नुभयो, “ दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।”

समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।

वि.सं २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को सङ्क्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् ।

अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् ।

यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना सङ्क्रमणबाट निधन भइसकेको छन् ।