Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


राजधानी विराटनगर झनै अव्यवस्थित बन्दै, सडकको अवस्था भद्रगोल (भिडियो)


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगर पछिल्लो समय झन् अव्यवस्थित बन्दै गएको छ ।

मुलुक कै पूरानो शहर मध्येको यो शहरको सडक, भौतिक संरचनालगायतको उचित निर्माण र व्यवस्थापन नहुंदा सौन्दर्य नै हराएको जस्तो भएको छ ।

सामान्य वर्षा हुनेबित्तिकै जलमग्न हुनु र घाम लागेपछि बुङ्बुङती धुलो उड्नु विराटनगर महानगरको अभिन्न विशेषताजस्तै बनेको छ ।

विकासका नाममा महानगरभित्रका सडकहरु भत्काएर अलपत्र छाड्दा नगरबासी सास्ती बेहोर्न अभिशप्त छन् ।

महानगरको तिनपैनी चोकदेखि बञ्जारा चोकसम्म, ट्राफिक चोकदेखि जनआन्दोलन चोकसम्म, देवकोटा चोकदेखि टेलिकम कार्यालयसम्म र जलजला मोडदेखि ग्रिन क्रस अस्पतालसम्मका सडक लामो समयदेखि  भत्काएर अलपत्र छाडिएको छ ।

त्यस्तै हस्पिटल चोकदेखि राष्ट्र बैंकसम्मको ४ सय मिटर सडकको अवस्था त झन् दयनीय छ ।

जहाँ हस्पिटल,प्रदेशसभा भवन, सामाजिक विकास मन्त्रालयलगायत कार्यालय रहेका छन् ।

महानगरपालिका र ठेकेदारको बेवास्ताले सडक लथालिङ्ग हुँदा आवतजावतमा समस्या हुने गरेको स्थानीय विनोद कुमार शाहको गुनासो छ ।

महानगरले ६ अर्बको लागतमा क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत सडक, नाला र ढल निर्माणको काम गरिरहेको छ ।

विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की भने सबै काम एकसाथ गर्नुपर्दा ढिलाइ भएको दाबी गर्छिन ।

वर्षात्का कारण अहिले काम केही सुस्त भएको भएकाले यसलाई स्वाभाविक मान्नुपर्ने उनको तर्क छ ।

प्रदेशको राजधानी समेत रहेको महानगर स्वच्छ, व्यवस्थित र चिटिक्क बनाउनेतर्फ खासै सोचिएको देखिन्न । सडक तथा संरचनाको भद्रगोल अवस्थाले नगरवासीलाई गिज्याइरहेको छ ।

विकास निर्माणको नाममा भएका संरचना भत्काएर तर त्यसलाई समयमै पुरा नगर्दा नगरवासी दिक्दार बनेका छन् ।