२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कैलाली भन्सार कार्यालयले राजश्व लक्ष्य छुन सकेन


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन १३ । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा दुई करोड रुपैयाँ कम राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष ०७५/०७६ मा पाँच अर्ब २२ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा भन्सार कार्यालयले पाँच अर्ब १९ करोड राजश्वमात्रै संकलन गर्न सकेको हो ।

गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयबाट २१ अर्ब ६३ करोडको मालसामान आयात भएको छ । आयातको तुलनामा निर्यात न्यून छ । यो अवधिमा जम्मा ७८ करोड ७२ लाखको वस्तु निर्यात गरिएको छ ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेती भन्सार कार्यालयबाट तरकारी आयात रोकिनु र छोटी भन्सार कार्यालयहरु अलग भएका कारण लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको बताउँछन् ।

पेट्रोलियम पदार्थ, बिस्कुट र दालमोठबाट बढी राजश्व सकंलन भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयबाट ०७५/०७६ मा २१ अर्ब ६३ करोड मूल्यको मालसामान आयात हुँदा पाँच अर्ब १९ करोड राजश्व संकलन भएको सूचना अधिकारी उप्रेतीले बताए ।

चामल, मकै र गहुँगरी एक वर्षको अवधिमा कैलाली भन्सार कार्यालयबाट दुई अर्ब २८ करोड ३८ लाख मूल्यको खाद्यान्नमात्र आयात भएको छ ।

यस्तै, सोही अवधिमा ६५ हजार ३३६ मेट्रिकटन तरकारी आयात भएको कार्यालयको तथ्यांक छ ।

यसैगरी, ३० करोड ७२ लाख मूल्यको ७४ हजार ५०२ मेट्रिकटन फलफूल आयात हुँदा तीन करोड ७३ लाख राजश्व संकलन भएको सूचना अधिकारी उप्रेतीले जानकारी दिए ।

गत आर्थिक वर्ष कथ्था, कच, टर्पेनटाइन र रोजीनबाहेक अरु स्वदेशी उत्पादन निकासी गर्न नसकिएको कार्यालयले जनाएको छ ।

यस भन्सार कार्यालयबाट निर्यात भएका वस्तुबाट १५ लाख २५ हजार राजश्व संकलन भएको जनाइएको छ ।

सरकारले चालू आर्थिक वर्ष ०७६/७७ मा यस कार्यालयलाई ६ अर्ब ७० करोड राजश्व संकलनको लक्ष्य दिएको छ ।