२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा छ : महत


0
Shares

दाङ, मंसिर ७ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउनुभएको छ ।

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेसले आयोजना गरेका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको जिकिर गर्नुभयो ।

बहुमत प्राप्त सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको उहाँको भनाइ थियो ।

नेता महतले कोरोना महामारीको कारण देखाएर सरकार राज्य कोषको पूँजीमा ब्रह्मलुट मचाएको भन्दै महामारी रोकथाममा भएको काम निरर्थक रहेको टिप्पणी गर्नुभयो ।

कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको बताएको सरकारले खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको बताउँदै उहाँले संसद अधिवेशन नचलेको लाभ लिई रहेको पनि बताउनुभयो ।

एक फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुनै नसक्ने दाबी गर्नुभयो ।

पार्टीभित्रका सबैलाई सहमतिमा ल्याउने सभापति शेरबहादुर देउवाको सोचका कारण पनि निर्णय प्रकृयामा ढिलाइ भएको उहाँको भनाइ थियो ।