
काठमाडौं, मंसिर ७ । शिवलाई भगवान् बुद्धको रुपमा पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी पर्व मनाइएको छ ।
पशुपतिनाथ, पाटनको कुम्भेश्वर महादेव, मखनको महादेव लगायतको मन्दिरमा शिवलिंगमा चैत्य सहितको सुन तथा चाँदीको पञ्चबुद्धको मुकुट लगाएर तन्त्र तथा बज्रयान तान्त्रिक र सनातन विधिबाट विशेष पूजा गरिएको थियो ।
अक्ष्योभ्य, रत्नसम्भव, अमिताभ, अमोधसिद्धि र वैरोचन पञ्चबुद्धको मुकुट शिवलिंगमा पहिराइएको थियो ।
तन्त्र तथा बज्रयानी बौद्धमार्गीहरु शिवलाई बोधिसत्वकारुपमा पुज्ने गर्दछन् ।
विशेषगरी महायानी तथा बज्रयानी र शैव धर्मावलम्बीहरुले यो पर्व मनाउने गर्दछन् ।
यसदिन भगवान् बुद्धको जन्मस्थल लुम्बिनी लगायत विभिन्न स्थानमा रहेका विभिन्न महाविहार, विहार, बहाल र बहिलहरुमा मुखअष्टमी उपसोथ व्रत बसी बुद्ध, लोकेश्वर, बोधिसत्व, तारा र प्रज्ञापारमिताको साधना गर्ने गरिन्छ ।
यस्तो छ किम्बदन्ती
परापूर्वकालमा भगवान् बुद्धले विरुपाक्षबाट शिवलाई पञ्चबुद्धको मुकुट पहिराएर बचाएकाले शिवलिंगमा पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी मनाउने गरेको किम्बदन्ती छ ।
परापूर्वकालमा नेपालमा धर्मदत्तको शासनकालमा एक सुन्दर किराँत विरुपाक्ष थिए ।
विरुपाक्षले १२ वर्षको उमेरमा आफ्नी आमासँग खटपट भइ घर छाडे र आमाले पनि पछि घर छाडेर हिँडिन् ।
केही वर्षपछि एक जंगलमा आमा–छोराको भेटभयो ।
तर, दुवैले एकले अर्कालाई नचिनी कामबासनाले दुवैबीच सहबास भएछ ।
पछि आफूहरू आमा–छोरा सम्बन्ध रहेको थाहा पाएर पश्चताप गर्दै आफूले गरेको पापकर्म मोचन गर्न विरुपाक्ष पशुपति महादेवको शरणमा पुगे ।
विरुपाक्षको सम्पूर्ण पापकर्म सुनेर महादेवले १२ धार्नी तामालाई पगालेर त्यसको झोल बनाइ पिए पापमोचन हुन्छ भनेपछि जंगलमा गएर एउटा ठूलो भाँडोमा १२ धार्नी तामा पकाउँदै उमाल्न थाले ।
तामा पग्लियो भनेर ढकनी खोलेर हेर्दा पग्लिएको तामाको रापले विरुपाक्षको अनुहार कुरूप हुने गरी जलेछ ।
त्यसपछि महादेवप्रति अविश्वास भएपछि भगवान बुद्धको शरणमा पुगे ।
बुद्धले विरुपाक्षलाई जब जपमाला पूर्णरूपमा खुइलिन्छ, तिम्रो पापकर्म मोचन हुन्छ भनेपछि विरुपाक्ष वाग्मतीको किनारामा बुद्धले दिएका मन्त्र जप गर्दै बसे ।
लामो समयसम्म पनि जपमाला नखुइलेपछि निराश हुँदै उनी बाहिरिए ।
खोलाको छेउमा एउटा माग्ने बच्चा एक ठूलो फलामको पाता ढुंगामा घोट्दै थिए ।
अचम्म लागेर के गरिरहेको भनेर सोध्दा ‘मेरो लुगा साह्रै पुरानो भयो, म यो फलामको पाता घोटेर सियो बनाउँछु र लुगा सिलाउँछु’ भन्ने जवाफ पाए ।विरुपाक्ष बच्चाबाट प्रभावित भएर फेरि जप गर्न थाले ।
फेरि लामो समयसम्म पनि जपमाला नखुइलेपछि पुनः बाहिर निस्के ।
दुईजना मान्छेहरू धागोले फिटकिरी काट्दै गरेको देखे ।
अर्को ठाउँमा रुखलाई एकैचोटी बन्चरोले काट्यो भने ठूलो वेदना हुन्छ भन्दै सियोले घोच्दै रुखलाई ढाल्न खोज्दै गरेको दृश्य र एक ठाउँमा चराहरू आफ्नो चुच्चोले तलाउको पानी ओसारीरहेको पनि देखे ।
यस्तो देखेर विरुपाक्षलाई मनमा बुद्धले आफूलाई धेरै ठूलो काम अह्राएको रहेनछ, यस्ता बच्चा, मानिस, चराजस्ताले त यत्रो कामहरू सिद्ध गर्नसक्छन् भने म किन नसक्नु भन्दै पुनः जप गरे ।
पछि जपमाला खुइलिएर पापकर्मबाट मुक्त भएपछि विरुपाक्ष शिवसँग रिसाउँदै शिवलिंगमा प्रहार गर्दै हिँड्न थाले ।
महादेव अब आफूलाई पनि हिर्काउन आउँछ भन्ने ठानेर बुद्धको शरणमा पुगे ।
महादेवलाई बचाउन बुद्धले महादेवलाई पञ्चबुद्ध अंकित मुकुट लगाउन दिए ।
विरुपाक्ष महादेवलाई हिर्काउने भन्दै महादेवको अगाडि आए ।
तर, पञ्चबुद्धको मुकुट लगाएको देखेर आफ्नो गुरु सम्झेर बन्दना गर्दै शान्त भए ।
यसैदिनको सम्झनामा मुखअष्टमी परम्परा चलेको विश्वास रहँदै आएको छ ।
नेपालमा यो परम्परा धार्मिक सहिष्णुताको प्रतीक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्