३० असार २०८२, सोमबार | Mon Jul 14 2025


चिकित्सकसँग आफ्नै छोराको मृत्युका लागि याचना गरिरहेका छन् एक पिता


0
Shares

लन्डन, साउन १३ । आफ्नो सन्तानको मृत्यु कसले चाहन्छ होला र ? धन–सम्पत्तिले भ्याएसम्म खर्च गरेर आफ्नो सन्तानलाई बचाउन हरेक आमाबाबुले प्रयास गर्छन् ।

सबै रोग चिकित्सकले निको पार्न सक्छन् भन्ने छैन । त्यसैले पनि मरेतुल्य जीवन बाँचिरहेका आफ्ना छोराको मृत्युका लागि एक बेलायती पिताले चिकित्सकसँग याचना गरिरहेका छन् ।

४७ वर्षीय फ्रन्क मड्डक्सले आफ्नो २३ वर्षीय छोराको काभनको मृत्युका लागि याचना गरेका हुन् । तीन वर्ष अघिदेखि ‘कोमा’ मा रहेका छोरालाई ‘मर्न दिन’ उनले चिकित्सकसमक्ष याचना गरेका हुन् ।

काभन तीन वर्षअघि चार तले कार पार्किङस्थलबाट खसेका थिए । त्यतिबेला उनको मस्तिष्कमा गम्भीर चोट लागेको र उनी कोमामा गएको फ्रन्कले बताए ।

हाल उनलाई कृत्रिम रुपमा बचाइराखेको, नलीका माध्यमबाट खाना खुवाउने गरेको र चिकित्सकहरुले बढीमा २/३ वर्षसम्म यसरी बाच्न सक्ने बताएको उनको भनाइ छ । ‘यसरी केही वर्ष बचाए पनि उसलाई हामीले सकुशल पाउने सम्भावना समाप्त भइसकेको छ,’ उनले भने, ‘आफ्नो छोरा मरोस् भन्ने कसले चाहन्छ र ? ऊ बाच्थ्यो भने हामी जे पनि गर्न तयार हुन्थ्यौं, तर सम्भावना नै नरहेपछि यो हालतमा उसलाई हेरिरहँदा हामीलाई समेत पीडा हुन्छ ।’

उनलाई खाना खुवाउनका लागि कृत्रिम मेसिनको सहारा लिनु परेको छ । चिकित्सकहरुले ‘मेसिन’ झिक्न अस्वीकार गरेपछि आफूले याचना गरेको उनको भनाइ छ । ‘२/३ वर्ष यसरी बचाउन सकिन्छ भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘तर म ऊ मरोस् भन्ने चाहन्छु । भन्दा यो कुरा मानिसहरुलाई भयानक लाग्न सक्छ तर परिवार र उसका साथीहरु पनि उसको मृत्यु नै चाहिरहेका छन् ।’

चमत्कारपूर्ण तरिकाले छोरा निको भएमा आफूहरुलाई जीवनकै सबैभन्दा ठूलो खुशी प्राप्त हुने उनको भनाइ छ । ‘अस्पतालमै हामीले तीन पटक उसका जन्मदिन मनायौं, तीनवटा क्रिसमस त्यसरी नै मनायौं तर उसलाई ती सब थाहा नै छैन,’ उनले भने, ‘यो अवस्थामा उसलाई अझ कति राखौं ?’ (एजेन्सी)