११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


नेपाल–भारत बीचका व्यापारसम्बन्धी सन्धि–सम्झौता समयमै परिमार्जन हुनुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत बीचका व्यापारसम्बन्धी सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्ने बताएका छन् ।

नेपाल–भारत लजिष्टिक समिटको आज काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिए ।

उनले जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको बताए ।

काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकोले भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने बताए ।

कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताए ।

नेपालसँगको व्यापार थप सुधार र विस्तार गर्नुपर्ने अवस्था रहेको भन्दै उनले दुई पक्षीय व्यापार विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्ता विषयमा दुवै देश छलफल र कुराकानीबाटै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको भन्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनसम्बन्धी समस्या समाधानका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।