२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उत्कृष्ट गाउँ घोषणा गर्दै भिटोफ


0
Shares

सन्दीप पौड्याल/ईमेज

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) ले यही साउन १५ गते हुने आफ्नो साधारणसभाबाट बर्षको उत्कृष्ट गन्तव्य र उत्कृट गाउँ घोषणा गर्न लागेको छ ।

भिटोफ पर्यटन व्यावसायीहरुको छाता संगठन हो । यसले देशका विभिन्न जिल्लामा रहेका तर आझेलमा परेका गाउँहरुको प्रर्बद्धन गर्ने काम गरिरहेको छ ।

हरेक बर्ष भिटोफले दुर्गम जिल्लाहरुमा रहेका तर आँखा नपरेका गाउँहरुमा गएर उनीहरुलाई तालिम समेत प्रदान गरिरहेको छ ।

तालिम सँगै यस्ता गाउँहरुमा होमस्टे खोल्ने र स्थानीयलाई आफ्नै खुट्टामा अघि बढ्न भिटोफले प्रेरित गरिरहेको छ । त्यसैले पनि नेपालको पर्यटन क्षेत्रमा भिटोफको योगदान अतुलनिय छ ।  

भिटोफ यतिबेला आफ्नो २३ औं वार्षिक साधारणसभालाई लिएर तातेको छ । पदाधिकारीहरु यसकै तयारीमा जुटेका छन् । 

साधारणसभा सँगै भिटोफले २३ औं गाउँ पर्यटन दिवस पनि सोही दिन आयोजना गर्न लागेको छ ।

हरेक बर्ष हुने गाउँ पर्यटन दिवसकै अवसरमा भिटोफको साधारणसभा पनि हुने गरेको मञ्चका द्धितिय उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले वताए ।

स्थापनाकालदेखि हालसम्म भिटोफले दर्जनौं गाउँहरुको प्रवद्र्धन गरिसकेको छ । भिटोफले नै प्रवद्र्धन गरेका गाउँहरु अहिले नेपालका प्रमुख पर्यटकीय गन्तव्य समेत बनेका छन् । 

भिटोफमा ६ पटक अध्यक्ष समेत परिवर्तन भईसकेका छन् । भिटोफमा हाल रहेका कार्यसमितिका सदस्यहरु पनि लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आईरहेका व्यक्तिहरु छन् ।

यहाँ प्रवेश गर्नेहरु अधिकांश पर्यटन सँग सम्बन्धित व्यक्तिहरु नै भएकाले पनि भिटोफले घोषणा गर्ने गाउँहरुमा अनुगमन गर्न सहज हुने संयोजक गोपाल थापाले बताउँछन् । 

बिगतदेखि हालसम्मकोे कामकै कारण राजनीतिक तहदेखि अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको चासो र चर्चाको बिषयमा भिटोफ रहने गरेको छ ।

त्यसैले पनि नयाँ नेतृत्व परिवर्तन हुने समयमा यस संस्थामा हुने चुनाव कुनै राष्ट्रिय स्तरको भन्दा कम हुँदैन ।

भिटोफले साधारणसभा मार्फत यो बर्ष तिन वटा गाउँहरुलाई नयाँ गन्तव्यको रुपमा घोषणा गर्न लागेको हो । जसअन्तर्गत बाग्लुङ, रामेछाप र मुगु जिल्लासम्म पुगेर संस्थाले तयारीसमेत गरिसकेको मिडिया संयोजक थापा बताउँछन् ।

भिटोफले बाग्लुङको काठेखोलास्थित शिवधुरी गाउँका बासिन्दालाई होमस्टे तालिम दिनुका साथै होमस्टे उत्घाटन समेत गरेको छ ।

यस्तै रामेछापको दोरम्बामा नयाँ गन्तव्य सार्वजनिक र होमस्टे उत्घाटनको काम समेत गरेको छ । यस्तै मुगुको रारामा रहेको मुर्मामा पनि होमस्टे तालिम र गाउँलाई चिनाउने काम भिटोफले गरेको छ ।

यो सँगै भिटोफले आफ्नै पहलमा पहिला घोषणा गरिएका होमस्टेहरुको अवस्था र क्षमता अभिबृद्धिका कामहरु पनि गरिरहेको छ ।

यस्तै धादिङको धुनीवेशीमा असार १५ मा भिटोफले भव्यताका साथ रोपाई जात्रा समेत मनाएको छ ।

हरेक बर्ष विशेष रहने भिटोफको रोपाईं जात्रामा पनि नयाँ गन्तव्यकै खोजी गरी प्रचार गर्ने काम भईरहेको छ ।

यो सँगै साधारणसभामा तीन होमस्टेबाट पनि उत्कृष्ट होमस्टे छानिने बताइएको छ । कार्यक्रममा छापा, अनलाइन र टेलिभिजनका गरी तीन जना पत्रकारहरुलाई समेत सम्मान गरिँदैछ ।

काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा हुने कार्यक्रमको प्रमुख अतिथिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहने बताइएको छ ।

यस्तै विशेष अतिथिमा विश्वप्रकाश शर्मा, योगेश भट्टराई रहने बताइएको छ । यस्तै पर्यटन सचिव मोहन कृष्ण सापकोटा, श्रीलंकन एम्बेस्डरलगायतका विशिष्ठ पाहुनाहरुको उपस्थितिमा भिटोफले आफ्नो साधारणसभा सम्पन्न गर्दैछ ।

भिटोफ २०५४ सालमा स्थापना भएको संस्था हो । हालसम्म सूर्य प्रकाश श्रेष्ठ, बोधराज भण्डारी, शिव लामिछाने, चित्रबहादुर गुरुङ, कमल सापकोटा अध्यक्ष भईसकेका छन् । हालको अध्यक्ष ध्रुव सिंखडा हुन् । भिटोफ नेपालमा झण्डै आठ सय जना सदस्य छन् । यसको शाखा हाल पोखरामा रहेको छ ।