सहमतिको प्रयास जारी : राणा • Image Khabar Image Khabar


सहमतिको प्रयास जारी : राणा


इमेजखबर
३ मंसिर २०७७, बुधबार १८:५६

सहमतिको प्रयास जारी : राणा

काठमाडौं, मंसिर ३ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।

दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताउनुभएको छ ।

अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अट्नुपर्छ भन्ने लागेर नै मिलाउने प्रयास गरिराखेको स्पष्ट पार्नुभयो ।

आफूले एकपटक फेरि दुवै उम्मेदवारलाई एक ठाउँमा राखेर कुरा गर्नेसमेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अध्यक्षको रुपमा मैले दुवैजनालाई एउटा सशक्त उम्मेदवारको रुपमा देख्छु । दुईजना नै महासंघमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ, महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सिद्दिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’

महासंघको हितको लागि भएपनि दुवैजनाले त्याग गर्नसक्नुपर्ने उहाँले बताउनुभयो ।

कोभिड–१९ को परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताउनुभयो ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले आ–आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गएको चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिडका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्