
काठमाडौं, साउन ११ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वर्षायामको पानी संकलन गरी सिँचाइका लागि उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको ‘समुदाय र पर्यावरणका लागि वर्षायामको पानीको उपयोग’ सम्मेलनमा मन्त्री पुनले वर्षायाममा पानी धेरै भएपनि अरु समयमा पानीको अभाव हुने गरेकाले पानी व्यवस्थापनको काम मन्त्रालयले गरिरहेको बताए ।
पानी संकलन गरी एकीकृतरुपमा त्यसको व्यवस्थापनका लागि ‘रिजर्भवायर’को अध्ययन पनि भइरहेको उनले बताए ।
खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले देशको पानी छिमेकीमुलुक भारतमासमेत निर्यात हुनसक्ने भन्दै पानीको व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए ।
यस्तै, नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुले खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले सबै नगरपालिकालाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा खानेपानीको समुचित उपयोगका लागि मूल्यांकन तथा अनुसन्धानको कमी भएकाले अनुसन्धानमा जोड दिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्