
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ ।
योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत भएको छ । मेक्सिकोसँगको सीमाका केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी गरिरहेका बेला परेको उजुरीमा सर्वोच्च अदालतले खर्च गर्न सक्ने फैसला गरेको हो ।
यसअघि क्यालिफोर्नियाको संघीय अदालतले राष्ट्रपति ट्रम्पले देशको दक्षिणी क्षेत्रमा सीमा पर्खाल बनाउनका लागि पेन्टागनको रकम खर्चिन नपाउने फैसला गरेको थियो ।
तर सर्वोच्च अदालतले क्यालिफोर्निया अदालतको फैसलाको विपक्षमा आफ्नो निर्णय सुनाएको हो ।
सर्वोच्चमा ट्रम्पको पक्षमा पाँच तथा विपक्षमा चार मत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पले सन् २०१६ मा चुनावी अभियानका क्रममा मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेका थिए ।
तर डेमोक्र्याट सांसदहरुले ट्रम्पको योजनालाई अस्वीकार गर्दै आएका छन् ।
कंग्रेसमा अवरोध भएपछि ट्रम्पले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए ।
सर्वोच्चको फैसलासँगै अब पेन्टागनको २ अर्ब ५० करोड डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ ।
यसैबीच ट्रम्पले सर्वोच्चको फैसलालाई आफ्नो ठूलो विजयका रुपमा ब्याख्या गरेका छन् ।
उनले ट्वीट गर्दै सीमाको सुरक्षा र कानुनी शासन प्रत्याभूति गराउन आफ्नो जित भएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्