
काठमाडौं, साउन १० । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सन्तुलित नीतिकारुपमा आएको जनाएको छ ।
चेम्बरले मौद्रिक नीतिबारे औपचारिक धारणा सार्वजनिक गर्दै सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशतमुनिको मुद्रास्फीति हासिल गर्न सहयोग पुग्नेगरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सराहनीय रहेको जनाएको छ ।
तर, यसअनुरुप मौद्रिक एवं वित्तीय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्णरुपले हासिल गर्नेगरी मौद्रिक नीति आएको अनुभूति भने हुन नसकेको पनि उसले जनाएको छ ।
वित्तीय प्रणाली र मौद्रिक व्यवस्थापनमा हाल विभिन्न चुनौतीहरु विद्यमान छन् । द्रुतगतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एवं व्यवसायीहरुले उद्यम–व्यवसाय गर्न आवश्यक मागअनुसार व्यवस्था र कर्जाको ब्याजदर घट्नुपर्नेमा मौद्रिक नीतिमा सो विषयमा आंशिकमात्र सम्बोधन गरेको पाइएको चेम्बरको ठहर छ ।
मौद्रिक नीतिमा सुधार गरिएका वित्तीय औजारको प्रयोग पनि निकै चुनौतीपूर्ण हुने देखिएको चेम्बरको भनाइ छ ।
नयाँ पुँजी निर्माणमा मौद्रिक नीतिले ठोस कार्यक्रम ल्याउन नसकेको पनि चेम्बरले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्