मानबहादुर वली (इमेज)
सुर्खेत, साउन १० । एक वर्षअगावै सुरुङ निर्माणको काम सकेर चर्चित भएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले दोस्रो चरणको निर्माणमा कम्पनी छनोट प्रक्रिया सकाएको छ ।
आयोजनाको दोस्रो चरणको निर्माणका लागि हेडवर्क्स, पावरहाउसलगायत पूर्वाधार निर्माणमा चिनियाँ कम्पनी ग्वाङडङसँगको साझेदारीमा रमण कन्स्ट्रक्सनले जिम्मा पाएको छ ।
आयोजनाको दोस्रो चरणको कामका लागि करिब एक दर्जन अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कम्पनीको साझेदारीमा आवेदन दिएका थिए । योग्यताको सूचीमा परेका पाँच कम्पनीमध्ये एक भारतीय र चार चिनियाँ हुन् ।
यस बहुउद्देश्यीय आयोजनामा सुरुङ निर्माणको काम निर्धारित् समयभन्दा एक वर्षअघि सम्पन्न गरेको चिनियाँ कम्पनी कोभेक दोस्रो चरणमा भने बाहिरिएको छ ।
नेपाली निर्माण कम्पनी टुन्डीसँगको साझेदारीमा प्रतिस्पर्धा गरेको कोभेक कम्पनी छनोटकाक्रममा चौथो नम्बरमा परेको छ ।
करिब ३६ अर्ब रुपैयाँ लागतको आयोजनाको दोस्रो चरणको निर्माणकार्य भ्याटसहित करिब ९ अर्ब २३ करोडको लागत अनुमान गरी टेन्डर गरेको थियो ।
तर, निर्माणको ठेक्का पाएको रमण कन्स्ट्रक्सनले चिनियाँ कम्पनी ग्वाङडङसँगको साझेदारीमा झन्डै एक अर्ब ८४ करोड घटेर ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँको टेन्डर हालेको थियो ।
आयोजनाले यही कम्पनीलाई सदर गर्दै सम्झौताका लागि बोलाएको छ ।
पछिल्लो समय ठूला ठेक्काहरुमा विवादित बनेको रमणलाई दोस्रो चरणको निर्माणकार्य दिन नहुुनेमा सुुर्खेतका राजनीतिक दलहरुले विरोध गरेका छन् ।
सडक विभागलेसमेत कालोसूचीमा राख्ने तयारी गरेको कम्पनीलाई निर्माणको काम दिन नहुुने साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल बताउँटन् ।
यता, आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल हाइड्रोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले खरिद ऐनको सातौं संशोधनबमोजिम नै रमण कन्स्ट्रक्सनले ठेक्का पाएको बताउँछन् ।
आर्थिक ऐन–नियमका आधारमा यस कम्पनीले पेस गरेका कागजातका आधारमा सक्षम देखिएकाले छनोटमा परेको उनले बताए ।
आयोजनाको सुरुङको गत वैशाखमा ‘ब्रेक थ्रु’ भएको थियो ।
आयोजनाको एकतिहाइ काम सम्पन्न भइसकेको छ भने टनेलको कामको ‘फिनिसिङ’को काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोलजनाको दोस्रो चरणअन्तर्गत् हेडवर्क्स, हाइड्रो मेकानिकल, पावर हाउस र ट्रान्समिसनलाइनको काम भइ सम्पन्न हुने आयोजनाले जनाएको छ ।
यो ‘प्याकेज’को ठेक्का पाउने कम्पनीले भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्