काठमाडौं, साउन १० । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटअन्तर्गत्को एसिया फाइनलको तेस्रो खेलमा नेपालले शनिबार कुवेतसित खेल्दैछ ।
अन्तिम खेलमा आइतबार नेपालले आयोजक सिंगापुरसित खेल्नेछ ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालले खेल्न बाँकी दुवै खेल जित्नुपर्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा कतारसित पराजय व्यहोर्दा मलेसियालाई हराएको नेपालको २ अंकमात्र रहेको छ ।
नेपालले खेल्न बाँकी टिम सिंगापुर तीन खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, शनिबार खेल्दै गरेको टिम कुवेत तीन खेलबाट ३ अंकमा रहेको छ ।
शीर्ष स्थानमा रहने टिममात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालले बाँकी दुवै खेल जित्दामात्र छनोट हुनेछ ।
शुक्रबार भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै सिंगापुर दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको हो ।
मलेसियाले दिएको ९३ रनको चुनौती सिंगापुरले १३ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।
त्यस्तै, शुक्रबारै कुवेतले कतारलाई १० रनले पराजित गर्यो । १९८ रनको चुनौती पछ्याएको कतारले ५ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।
मलेसिया र कतारको समान २ अंक रहेको छ । दुई टिम आपसमा भिड्दै छनोट सकाउनेछन् ।
तीन खेलमात्र खेल्न बाँकी रहँदा सिंगापुर, कुवेत र नेपालकोमात्र छनोटको सम्भावना रहेको छ भने मलेसिया र कतार बाहिरिइसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्