
काठमाडौं, साउन १० । नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ ।
दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।
द्विपक्षीय छलफलपछि शुक्रबार हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप ८ ओटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ ।
योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ ।
चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलकाक्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्