दीपक श्रेष्ठ र योगेश लामा (इमेज)
ललितपुर, साउन १० । सार्वजनिक सम्पदाहरु मासिनेक्रम बढ्दै गएको छ ।
यसैक्रममा ललितपुर महानगरपालिका वडा नम्बर–२०, नःटोलमा रहेको ऐतिहासिक पलेस्वाँः अर्थात् कमलपोखरी पनि मासिने अवस्थामा पुगेको छ ।
महानगरपालिकाले ऐतिहासिक पोखरी मासेर पार्किङस्थल बनाउन ठेक्का दिएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
ललितपुर महानगरपालिकाले वडा नम्बर–२०, नःटोलमा रहेको ऐतिहासिक पलेस्वाँः अर्थात् कमलपोखरी भएको स्थानमा पार्किङस्थल बनाउन सम्झौता गरेपछि विवाद चुलिएको हो ।
२०२९ सालमा सर्वोच्च अदालतले सो स्थानलाई पोखरी नै कायम राख्न आदेश दिएको भएपनि महानगरपालिकाले बजेट अभाव देखाउँदै हालसम्म पनि पोखरी बनाउन सकेको छैन ।
तर, अहिले महानगरपालिकाले पोखरी रहेको स्थानमा पार्किङस्थल बनाउने तयारी गरेको छ । यो ठाउँमा साविकमा चारओटा पोखरी रहेको स्थानीय बताउँछन् ।
पोखरीले ओगटेको ३२ रोपनी क्षेत्रफलमध्ये १६ रोपनीमा ललितपुर महानगरपालिकाको कार्यालय नै छ । त्यसैगरी, यही जग्गामा त्रिपद्म माध्यमिक विद्यालयको भवन पनि बनेको छ ।
चारमध्ये एउटा पोखरीलाई भने महानगरपालिकाले आफ्नै कार्यालयको पछिल्लो हातामा रहेको पार्कलाई शोभा बढाउने उद्देश्यले आधुनिक तरिकाले निर्माण गरेको छ ।
हाल विवादित पार्किङ सन्चालनका लागि दिइएको पोखरी रहेको भनिएको कित्ता नम्बर–४० को झन्डै ५ रोपनी जग्गा भने खाली छ ।
यही जग्गामा २०५४ सालमा पनि तत्कालीन ललितपुर नगरपालिकाले सभाहल बनाउने प्रयास गरे पनि स्थानीयको विरोधका कारण रोकिएको थियो ।
अहिले फेरि महानगरपालिकाले नै पार्किङस्थल बनाउन खोजेपछि स्थानीय धर्नामा बस्दै आएका छन् ।
पलेस्वाः पुखु संरक्षण समितिका अध्यक्ष बाबुराजा महर्जनले लिच्छविकालीन सम्पदा मासेर महानगरपालिका अघि बढ्न खोजे आफूहरु अझ कडारुपमा प्रस्तुत हुने चेतावनी दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने पोखरी निर्माण नगरी पार्किङलाई नै ठेक्कामा दिने अडानमा रहेको समितिको दाबी छ ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन भने पर्यटन वर्षका लागि सवारी व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले तत्काललाई पार्किङस्थल बनाउन खोजिएपनि दीर्घकालीनरुपमा यो जग्गामा पोखरी नै बनाउने आफूहरुको उद्देश्य रहेको बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्