Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आगामी वर्ष टोकियोमा हुने ओलम्पिक खेलमा गर्मीले सताउने चिन्ता, यस्तो छ आयोजकको तयारी


0
Shares

काठमाडौं, साउन १० । आगामी वर्ष जापानको टोकियो शहरमा हुने ओलम्पिक खेलमा गर्मीले सताउन सक्ने भन्दै आयोजकहरु चिन्तित बनेका छन् ।

३२ औं ग्रिष्मकालिन ओलम्पिक खेलकुद अर्को वर्ष जुलाई २४ देखि अगष्ट ९ सम्म जापानको टोकियो शहरमा हुँदैछ । ओलम्पिकका बेला अत्यधिक गर्मीको प्रभाव घटाउन जापानले ठाउँठाउँमा ‘कुलिङ स्टेसन’ अर्थात चिस्यान केन्द्रहरु बनाउँदैछ । 

खेल हेर्न आउने दर्शक, पदाधिकारी तथा खेलाडीले उक्त कुलिङ स्टेसनमा चिसो शीतजस्तै स्प्रे लिन सक्नेछन् ।

यसैगरी एयर कन्डिसनसहितका टेन्टहरु ठाउँठाउँमा राखिँदैछ भने रुख तथा छहारीले सम्भव भएसम्मका खेलस्थल ढाक्ने प्रयाससमेत जापानले गरिरहेको छ । जापानले टोकियो शहरमा हाल भइरहेको एउटा भलिबल प्रतियोगितामा यसको परीक्षणसमेत गरेको छ । सो क्रममा झण्डै डेढ सय स्वयंसेवकहरुले चिसो स्प्रे लिएका थिए ।

यो परीक्षण सफल भए अर्को वर्ष हुने ओलम्पिकमा केही राहत हुने विश्वास गरिएको छ । जापानमा अघिल्लो वर्ष अत्यधिक गर्मीका कारण एक दर्जनले ज्यान गुमाएका थिए ।

गत वर्ष जापानमा अहिलेसम्मकै अधिकतम तापक्रम ४१ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो ।