
पोखरा, साउन ९ । यती एअरलाइन्सले पोखरादेखि नेपालका पर्यटकीय सहरहरुमा नियमित उडान गर्ने भएको छ ।
यसअघि, पोखराबाट काठमाडौंका लागि उडान भर्दै आएको एअरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर (गोल्डेन ट्रयागल)मा थप उडान सुरु गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
एअरलाइन्सले पोखराबाट भैरहवाका लागि यही साउन १६ गतेदेखि दैनिक उडान भर्नेछ । आउँदो भदौ १५ गतेदेखि भरतपुरका लागि नियमित उडान गर्नेछ ।
यस्तै, भदौ २९ देखि ‘माउन्टेन फ्लाइट’ गर्ने एवं पोखराबाट नेपालगन्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गर्ने कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए ।
पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि यसअघि बुद्ध एअरले उडान भर्दै आएकामा यतीलेसमेत सुविधा थपेपछि पर्यटकका लागि सहज हुने भएको छ । यतीले मात्र २० मिनेटमा उडानमार्फत् पोखरा र भैरहवालाई जोड्नेछ ।
यस्तै, पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको छ । माउन्टेन फ्लाइटका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ लाग्नेछ ।
पोखरा–भैरहवा उडानका लागि दुई हजार ७०० देखि बढीमा चार हजार ३५० रुपैयाँ भाडा कायम गरिएको छ ।
यस्तै, पोखरा–भरतपुरका लागि दुई हजार ५०० देखि तीन हजार ८०० रुपैयाँ लाग्ने कम्पनीका प्रवक्ता भीमराज राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्