Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


इथियोपियामा द्वन्द्वका कारण सयौं नागरिकको हत्या भएको एमनेष्टिको आरोप


0
Shares

काठमाडौं । एमनेष्टी इन्टरनेशनलले इथियोपियामा जारी द्वन्द्वका कारण सयौ नागरिकको हत्या गरिएको आरोप लगाएको छ ।

उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वका कारण नरसंहार भएको एमनेष्टिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले संघीय सैन्य आधार शिविरहरुमा हमला गरेको भन्दै गत साता सेनाले सैन्य कारवाही सञ्चालन गरेदेखि हिंसात्मक घटनाहरु भएका हुन् ।

दुवै पक्षका सेनाबीच जारी द्वन्द्व कायमै रहेको र हतियार डिपो लगायत महत्वपूर्ण स्थान केन्द्रीत हवाइ हमला जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारी सेनाले टीपीएलएफलाई हतियाररहित बनाउने अभियान सफल नभएसम्म आक्रमण जारी राख्ने चेतावनी दिएको छ ।

विद्रोही र सरकारी सेनाबीचको भिडन्तका कारण सार्वजनिक तथा निजी संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

यस्तै दुवै पक्षको आक्रमणबाट बच्न हजारौं नागरिक सीमा पार गरेर सुडान पुगेका छन् । बिस्थापितहरु शरणर्थी शिविरमा रहेको एमनेष्टीले जनाएको छ ।

द्वन्द्वमा मारिएकाहरु अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दावी गरेको छ । घाइते भएकाहरु पनि हतियार प्रहारबाट चोट लागेकाहरु रहेको बताइएको छ ।

यता इथियोपियाका प्रधानमन्त्री अबि अहमदले स्थिति सामान्य अवस्थामा आइसकेको दावी गर्नुभएको छ ।

उहाँले दुवै पक्षबीचको द्वन्द्व समाधान भइसकेको दावी गरेपनि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले भने उक्त स्थानमा गम्भीर मानवीय संकटको अवस्था रहेको जनाएका छन् । एजेन्सी