काठमाडौं, साउन ९ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल र उपाध्यक्ष पिताम्बर तिम्सिनालाई स्वागत गरेको छ ।
बिहीबार एनओसी कार्यालय सातदोबाटोमा विशेष कार्यक्रमको आयोजना गरी सदस्यसचिव सिलवाल र उपाध्यक्ष तिम्सिनालाई स्वागत गरिएको हो ।
सिलवाल गएको असारमा र तिम्सिना सात महिनाअघि राखेपमा नियुक्त भएका थिए ।
सो अवसरमा बोल्दै सदस्यसचिव सिलवालले संघहरुबीचको द्वन्द्व हटाउँदै एकीकृत गर्ने विश्वास दिलाउँदै आसन्न दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा मंसिरमा हुने बताए ।
त्यस्तै, उपाध्यक्ष तिम्सिनाले नेपाली खेलकुदको स्तरोन्नति गर्न सबै खेल संघहरुसँग सहकार्य गरिरहेको बताए ।
एनओसी अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि एनओसी र राखेपबीच हातेमालो गरेर अगाडि बढ्दा जस्तोसुकै असफलता पनि पार गर्न सकिने बताए ।
उनले सदस्यसचिव सिलवालको क्षमताको प्रशंसा गर्दै खेल विकासका लागि कार्यकाल सफल हुने आशा व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्