३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उत्तर कोरियाद्वारा ‘नयाँ प्रकारको’ क्षेप्यास्त्र प्रक्षेपण


0
Shares

सियोल, साउन ९ । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् ।

बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुईओटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताएका छन् ।

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती दुवै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ ।

पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भएपनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो ।

दुवै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।

विश्लेषकहरुले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टि प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।

गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो ।

उक्त घटनालाई सामान्यरुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अवरुद्ध रहेको वार्ता मध्य जुलाईमा सुरु हुनसक्ने यसअघि बताएका थिए ।

तर, गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो । रासस/एएफपी