Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रदेश नम्बर २ मा बजेटको खर्च निराशाजनक : असार महिनामै ११ महिनाको खर्च !


0
Shares

-नवीन सिंह/ईमेज

जनकपुर । गत आर्थिक वर्षमा प्रदेश नम्बर २ ले ५० प्रतिशत बजेट खर्च गर्न असमर्थ भएको छ ।

प्रदेशको ११ महिनासम्मको खर्चभन्दा असार महिनाको खर्च बढी देखिएपछि सरकारको कार्यशैलीमै गम्भीर प्रश्न खडा भएको हो । 

११ महिनासम्म विकास बजेट खर्च गर्न खासै ध्यान नदिएको प्रदेश दुई सरकारले आर्थिक वर्षको अन्तिम दुई दिन मात्रै २ अर्ब ८५ करोड ६७ लाख रुपैयाँ  पूँजीगत खर्च गरेको छ ।

११ महिनासम्म विकास बजेट जम्मा २ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ खर्च गरेको सरकारले असारमा महिनामा मात्रै ५ अर्ब ५० करोड ८५ लाख खर्चेको हो ।

गत वर्षको बजेटको कूल १५ अर्ब ९ करोड ६३ लाख रुपैयाँ खर्च भएको र त्यसमा पुँजीगततर्फ ८ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ खर्चिएका प्रदेश २ कोष तथा लेखानियन्त्रक कार्यालयका लेखानियन्त्रक विनोद गेलाल जानकारी दिए ।

विकास निर्माणका कामको अनुगमन गरी असार मसान्त सकिनु भन्दा कम्तीमा १ साता अगाडि नै मूल्यांकन गरी रकम निकासका लागि पत्राचार गर्नुपर्ने नियमावली भए पनि त्यसलाई लत्याएर रातारात रकम निकास गरिएको छ ।

यस सम्बन्धमा प्रतिपक्षी दल नेकपाका नेता रामचन्द्र मण्डलले प्रदेश सरकारले योजनानिर्माणमै ढिलाई गरेको आरोप लगाउँदै सरकार अनियमितता र भ्रष्टाचारमालिप्त रहेको आरोप लगाए ।

यता अर्थविद् डा. सुरेन्द्र लाभले असारे विकासको नमूना नै आलोचनायुक्त रहेको दावी गर्दै विकासका नाममा तिनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँछन् । देशमा एउटा प्रकृतिले ल्याएको बाढी र अर्को नेताहरुले ल्याएको भ्रष्टाचारको बाढी अहिले जनताले प्रत्यक्ष अनुभुति गरिरहेको उनको भनाइ छ ।

प्रदेश सरकारका मन्त्रीले विकासको वाधकका रुपमा संघीय सरकारलाई दोष लगाउँदै आए पनि आफ्नो मातहतको बजेट खर्च गर्न नसक्नुले क्षमतामै प्रश्नचिह्न खडा भएको छ ।

११ महिनासम्म एकअर्कामा दोष थोपर्न व्यस्त हुने र अन्तिममा आएर जथाभावीरुपमा भुक्तानी दिने परिपाटीले विकास र सुशासन कसरी सम्भव हुन्छ ? प्रदेश सरकारमाथि प्रश्न उब्जिएको छ ।