Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ : मन्त्री भट्टराई


0
Shares

फुङ्लिङ, कात्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ ।

गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवादजस्तो देखिएपनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो–‘नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ । छाल आयो भन्दैमा आत्तिनु हुँदैन ।’

पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गर्नुभयो ।

नेताहरुले आ–आफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

उहाँले पार्टी एकता कायम गर्नका लागि जनदबाब सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।

मापसे परीक्षण यन्त्र पठाइने
मन्त्री भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादकपदार्थ सेवन (मापसे) जाँच गर्ने यन्त्र खरिद गरेर पठाइने बताउनुभएको छ ।

मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले शिक्षक नियमितरुपमा विद्यालय नआउने र आएपनि समयमै नआउने तथा मापसे गरेर आउने गुनासो आएको बताउँदै भन्नुभयो–‘यदि, मापसे परीक्षण गर्ने उपकरण भए विद्यालयमा सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेसिन खरिद गरेर पठाइदिन्छु ।’

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।

मन्त्री भट्टराईले सबै वडामा दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणलाइन पुर्‍याइने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।

उहाँले प्रत्येक गाउँपालिकामा एउटा खेलमैदान निर्माणका लागि जग्गा तयार गरिएमा बजेटको आवश्यक पहल गरिने आश्वासन दिनुभयो ।

मन्त्री भट्टराई गत शनिबारदेखि पालिकास्तरीय कार्यक्रम लिएर गृहजिल्ला ताप्लेजुङमा हुनुहुन्छ ।