Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


सभामुख सापकोटासित उत्तर कोरियाली राजदूतको शिष्टाचार भेट


0
Shares

काठमाडौं, कात्तिक २५ । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत जोलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाइ दिँदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सम्पूर्णरुपमा कोभिड–१९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा बाढी–पहिरो र कोभिड–१९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गर्नुभएकोमा सभामुख सापकोटाले राजदूत जोलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राजदूत जोले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनैपनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिँदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५औं वर्षको कार्यक्रममा भने नेपाललगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताउनुभयो ।

राजदूत जोले नेपालमा कोभिड–१९ र बाढी–पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडको अन्त्यपछि नेपाल र उत्तर कोरियाबीच संसदीय मैत्री समूहमार्फत् थप छलफल र भ्रमण आदान–प्रदान हुने अपेक्षा गरिएको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।