
विराटनगर, साउन ८ । अविरल वर्षासँगै आएको बाढीका कारण बक्राहा खोलाले अत्यधिक जमिन कटान गरेपछि मोरङको उर्लाबारी नगरपालिका–८, बगरेटोलका स्थानीयले आफैं बाँध निर्माण गरेका छन् ।
सरकारी निकायमा गुहार माग्दा प्रक्रिया पूरा गर्नुपर्ने भन्दै आलटाल गरेपछि स्थानीय अगुवाको पहलमा झन्डै ५०० मिटर लामो ‘पर्कुपाइन’ विधिको बाँध निर्माण गरिएको हो ।
बगरेटोलमा बक्राहाको बाढीका कारण २०७४ सालमा १४ घर विस्थापित भएका थिए । ८ घरपरिवारले वैकल्पिक व्यवस्था गरेर अन्यत्र सरे ।
तर, त्यहाँ रहेका ६ घरपरिवार भने पुनः यसपटकको वर्षा र बाढीका कारण विस्थापित भएर स्थानीय विद्यालयमा बसेका छन् ।
यसपटक २०७४ सालमा भन्दा तीव्रगतिमा बक्राहाले जमिन कटान सुरु गरेपछि स्थानीयले सरकारी निकायमा हारगुहार गरे ।
तर, कसैले बेलैमा चासो नदिएपछि सोही क्षेत्रका प्रदेश सांसद कुलप्रसाद साम्बाको पहलमा स्थानीयले बाँसको बाँध (पर्कुपाइन) निर्माण गरेका हुन् ।
सांसद साम्बाका साथै स्थानीय नारायण बस्नेतले आफैं रकमको जोहो गरेर खोलामा बाँध निर्माण गरेका हुन् ।
८ अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने स्थानमा ८ करोड रकम छुट्याएर काम हुन नसक्ने भन्दै सांसद साम्बाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनसँग कुरा भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्