
काठमाडौं । मनसुनी वर्षा पुनः सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ ।
जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
जल सतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।
यस्तै मकवानपुरमा रातिदेखि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय सडक अबरुद्ध पारेको छ ।
हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाको हेटौँडा आवतजावत बन्द भएको छ ।
त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ ।
शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो ।
गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्