
काठमाडौं, साउन ७ । सरकारले ‘भेहिकल ट्रयाकिङ’, ‘प्यान’ र बैंकमार्फत् तलब दिने व्यवस्था तीन महिनापछिमात्र कार्यान्वयन गर्ने भएको छ ।
सरकारले प्यान, बैंकमार्फत् तलब, ढुवानीमा ‘भीसीटीएस’लगायतका नियमको म्याद तीन महिना थप गर्ने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले हालै लागू भएका यी नियमहरु लागू गर्न कार्यदल गठन गरिएको भन्दै तीन महिनाको म्याद थपिएको जानकारी दिएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस), प्यान, बैंक खातामार्फत् तलब भुक्तानीलगायतका अहिलेका नियमहरु लागू गर्न के–कस्तो तयारी गर्नुपर्छ, कार्यदलमार्फत् सम्बोधन गरिने बताएका हुन् ।
अहिलेका प्रावधानहरु एकैपटक आएकाले समस्याजस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवर्द्धनको समय राखिएको उनले बताए ।
तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्नसकिने उनले स्पस्ट पारेको महासंघले जनाएको छ ।
नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिएका छन् ।
तत्काल प्यान दर्ता गरी बैंकमार्फत् तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघले आग्रह गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरहरुलाईसमेत अनिवार्य प्यान दर्ता गरी बैंकमार्फत् तलब भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था तत्काल नरहेको महासंघले बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्