Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


गुल्मी पहिरो अपडेटः ११ जनाको मृत्यु, दुई बेपत्ता, २०० घर जोखिममा (९ तस्वीर)


0
Shares

तारा भुसाल (इमेज)

गुल्मी, साउन ७ । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक र वडा नम्बर–४, लिम्घामा गरी मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

दुईजना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

लिम्घामा ८ जनाको र ठूलोलुम्पेकमा तीनजनाको मृत्यु भएको हो । 

लिम्घामा मृत्यु हुने आठैजना एकै परिवारका सदस्य हुन् ।

मृत्यु हुनेहरुमा ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विक, १२ वर्षीया अञ्जली विक, १० वर्षीय हेमन्त विक, रुपा विक, शिवानी विक, निर्मला विक र हिमांशु विक रहेका छन् । सोही परिवारका एकजना बालक मावली घरमा गएकाले उनी सकुशल छन् ।

सोही गाउँपालिका–३ को ठूलोलुम्पेक कसिनडाँडामा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी त्रामु र उनका ९ वर्षीय छोरा दर्शन त्रामुको मृत्यु भएको छ ।

त्यसैगरी, पहिरोबाट बच्न भाग्नेक्रममा ६३ वर्षीय दुर्गाबहादुर सिँजाली मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडामा रुद्र विकको घर बगाउँदा ४० वर्षीया माया विक र १६ वर्षीय गबी विक बेपत्ता छन् ।

पहिरोमा पुरिएर १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोली पुगेर उद्धारमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य टोली पनि पुगेको छ ।  

पहिरो ठूलो भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

२०० घर जोखिममा

पहिरोका कारण ठूलोलुम्पेकका करिब २०० घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

घरहरु जोखिममा रहेकाले प्रभावितहरु स्थानीय विद्यालयहरुमा बसिरहेका छन् । उनीहरुलाई खानपिनका लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उद्धार र राहतमा जुट्ने निर्णय गरेको छ ।

उद्धारका लागि पहिरो प्रभावित क्षेत्रमा विभिन्न संघ, संगठनसमेत खटिएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली राहत सामग्रीसहित पुगे

मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली काठमाडौंबाट हेलिकोप्टरमार्फत् राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे, चिकित्सक रेशम ज्ञवालीलगायतको टोलीले स्थलगत अवलोकन गरी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको जनाइएको छ ।

गुल्मी क्षेत्र नम्बर–१ मा पर्ने उक्त स्थान मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्र हो ।