
रसुवा । रसुवाको लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा काम गर्ने मजदुरको ज्याला वृद्धि भएको छ ।
जिल्ला दररेट निर्धारण समिति रसुवाले दुर्गम क्षेत्रमा काम गर्ने मजदुरको ज्याला १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।
योसँगै अब यस क्षेत्रमा काम गर्ने मजदूरले दैनिक १ हजार ७ सय ७० रुपैयाँसम्म ज्याला पाउने छन् ।
विगतमा ज्याला कम भएको भन्दै मजदूर नपाइएपछि सरकारी तथा उपभोक्तामार्फत काम गराउन मजदूरको ज्याला बढाइएको हो ।
यसले विकास निर्माणका काममा सहजता ल्याउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
डकर्मी, सिकर्मी, वज्रकर्मी, लोहाकर्मी, नकर्मि, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन, चित्रकारलगायतका कामदारका हकमा यो ज्याला लागू हुने छ ।
त्यसैगरी जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामग्रीबाहेक अन्य निर्माण सामग्रीको हकमा नुवाकोट तथा काठमाडौंको दररेटलाई आधार मानी ढुवानी भाडा जोडि मूल्य कायम गर्ने निर्णय गरिएको छ ।
चालू आर्थिक वर्ष २०७६/७७ का लागि ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल तथा जोखिमपूर्ण कार्य गराउँदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ ।
त्यस्तै विभिन्न कार्यालयका लागि जिप÷कार बढीमा ५ दिनका लागि सवारी इन्धन र जनशक्तिसहित प्रतिदिन ८ हजार भाडामा लिन सकिने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्