१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


लगानी बोर्डद्वारा तीन परियोजनासँग सम्झौता, दुई खर्ब ५४ अर्ब लगानी भित्रिँदै


0
Shares

काठमाडौं, साउन ६ । यो वर्ष लगानी बोर्डमार्फत् अहिलेसम्म दुई खर्ब ५४ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिने सुनिश्चितता बढेको जनाइएको छ ।

बोर्डले यो परिमाणको तीनओटा विदेशी कम्पनीसँग साझेदारीको प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

लगानी सम्मेलनमा ५० ओटा सरकारी क्षेत्रबाट र २७ ओटा निजी क्षेत्रबाट गरी कुल ७७ ओटा परियोजनाका लागि प्रतिबद्धता भएको थियो ।

तर, हालसम्म ३१ कम्पनीमात्रै नेपालमा लगानी गर्नका लागि इच्छुक देखिएको बोर्डले जनाएको छ ।

लगानी सम्मेलनपश्चात् नेपालमा लगानी गर्नका लागि हङकङ, फिलिपिन्सलगायतका मुलुकका कम्पनीहरुले सम्झौता गरिसकेको पनि बोर्डले जनाएको छ ।

हङकङको एक कम्पनीले लुम्बिनीमा दुई खर्ब लगानीमा ‘वर्ल्ड बुद्धिस्ट एक्जिबिसन पार्क’ स्थापना गर्नका लागि सम्झौता गरिसकेको बोर्डले जनाएको छ ।

यस्तै, फिलिपिन्सको ग्रीन इनर्जीले नेपालका सातओटै प्रदेशमा ५५० मेगावाट क्षमताको सोलार पावर प्लान्ट स्थापना गर्नेगरी लगानी स्वीकृत भइसकेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए ।

यस्तै, वीरगन्ज र भैरहवामा पनि फ्ल्यास टर्मिनल एजेन्सीसँग ६ अर्ब ५० करोड लगानीमा सुक्खा बन्दरगाह र कार्गाेका लागि सम्झौता भइसकेको जनाइएको छ ।

सो कम्पनीले आगामी दुई महिनाभित्रै काम सुरु गर्ने पनि उनले बताए ।

बोर्डले नेपालमा लगानी गर्न आउने कम्पनीहरुको स्तर तथा सो कम्पनीको क्षमताबारे पूर्णविवरण तयार गरी कम्पनीको पृष्ठभूमिका आधारमा कम्पनी छनोट गर्ने गर्दछ ।

बोर्डले इच्छुक देखिएका कम्पनीहरुकाबारेमा अध्ययनसमेत गरिरहेको जनाएको छ ।