Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जापानद्वारा ६३ करोड ९९ लाख अनुदान


0
Shares

काठमाडौं, साउन ६ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव *संशाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु *६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।

सोमबारै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका)का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले ‘दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भएपनि सहयोग गर्न पाएकामा जापान गौरव गर्छ’–भने ।

अर्थसचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे । रासस

*यसअघि अन्यथा भएकाले सच्याइएको । सम्पादक ।