Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बालुवाटार जग्गा प्रकरण : निष्पक्ष र निर्भिकतापूर्वक अनुसन्धान हुनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको माग


0
Shares

काठमाडौं, साउन ६ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा बेचबिखन गरी हिनामिना भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिकतापूर्वक अनुसन्धान हुनुपर्ने बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बेचबिखन गरी हिनामिना गरेको सन्दर्भमा पूर्वसचिव शारदाप्रसाद त्रिताल प्रतिवेदनले औंल्याएका व्यक्तिहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो समेतले गहन अनुसन्धान गरिरहेको बिषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सो सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमित तथा गैर कानुनी निर्णय गर्न÷गराउन कतिपय जिम्मेवार कर्मचारीहरु सहित पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको हुँदा यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ भन्ने हाम्रो प्रबल धारणा छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रायः सबै ठुला अनियमितता एवं भ्रष्टाचारका काण्डहरु राजनीतिक नेतृत्वको संलग्नता विना कर्मचारीहरुको चाहनाले मात्र हुन प्रायः असम्भव रहेको ठहर गर्दैै विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारका घटनाहरुमा प्रायः कर्मचारीहरु माथि दोष थोपरेर राजनैतिक नेतृत्व सधै उम्कने बिडम्बनापूर्ण स्थिति हाम्रो मुलूकमा छ । विभिन्न अध्ययन तथा अनुसन्धानबाट राजनैतिक पक्षनै भ्रष्टाचारको मूल कारक हो भन्ने प्राप्त निष्कर्षलाई हामीले आत्मसात गर्दै राजनैतिक नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुनु अनिवार्य छ ।’ 

विज्ञप्तिमा बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनैतिक पदाधिकारी लगायत सबै व्यक्तिहरु जो जतिसुकै शक्तिशाली हुन्, कानूनी कारवाहीबाट उन्मुक्ति नपाउने व्यवस्था हुन सम्बन्धित सबैमा जोडदार माग गरिएको छ ।