काठमाडौं, साउन ५ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ ।
लगातार दोस्रो उपाधि जित्ने क्रममा आइतबार भएको फाइनलमा ब्रिगेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्रिगेडले पहिलो पटक फाइनल पुगेको पुलिसमाथि १–० को जित निकालेको हो ।
ब्रिगेडलाई जिताउन बृजेश चौधरीले निर्णायक गोल गरे ।
सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेड तथा जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको थियो ।
‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्