
काठमाडौं, साउन ५ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारहरुको सुरक्षा, अधिकार र न्यायमा पहुँचलगायतका विषय संवेदनशील रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल तथा दक्षिण एसियाली मुलुकबाट लाखौं कामदार खाडीलगायतका मुलुक गइरहेको सन्दर्भमा यस्ता विषय अझ महत्वपूर्ण बनेको बताए ।
अध्यक्ष शर्माले आप्रवासी कामदारहरुको अधिकार संरक्षण सबैको चासोको विषय भएकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।
यसैबीच, आप्रवासी कामदारहरुको मानवअधिकार कै सम्बन्धमा आगामी कात्तिक २६ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मानव अधिकार आयोगले आयोजना गर्न लागेको सम्मेलनमा सार्क मुलुकसहित विभिन्न ३० देशका मानव अधिकार आयोगका पदाधिकारीहरुको सहभागी रहने बताइएको छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको मानवअधिकारको अवस्था नाजुक रहेकाले त्यसमा सुधार गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्