
-नरेन्द्र थापा/ईमेज
नेपालगन्ज । भन्सार एजेन्टको आन्दोलनका कारण नेपालगन्ज भन्सारबाट हुने आयात निर्यात ठप्प भएको छ ।
गत बुधबारदेखि यो भन्सार नाका ठप्प हुँदा दैनिक ४ करोड रुपैयाँसम्म राजस्व गुम्दै गएको छ ।
विभिन्न माग राख्दै भन्सार एजेन्टले सामान छुटाउन नमानेपछि नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात ठप्प भएको छ ।
सामान छुटाउने भन्सार एजेन्ट नै नभएपछि सयौं ढुवानीका साधन नाकामै रोकिएका छन् ।
सरकारले ल्याएको अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने प्रावधानको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका हुन् ।
नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पुर्याएर मालसामान सम्बन्धित ठाउँमा पुर्याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरूका प्रतिनिधिले काम बन्द गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।
उनले बुधबारदेखि कुनै पनि सामानको भन्सार हुन नसक्दा दैनिक ३ देखि ४ करोड रुपैयाँसम्म राजस्व गुम्दै गएको बताए ।
अहिले यो नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाहेक अन्य मालबाहक गाडी भन्सार प्रक्रियामा आएका छैनन् ।
मालबाहक ट्रकको भन्सार प्रक्रिया नभएपछि भन्सारका कर्मचारी पनि फुर्सदिला भएका छन् ।
भन्सार एजेन्टहरू आन्दोलनमा उत्रिएको जानकारी नपाएका मालबाहक गाडी नेपाल भित्रिए पनि अन्य गाडी भारतको रुपैडिहामा नै रोकिएका छन् ।
भन्सारमा रहेका एजेन्टलाई करको दायरामा ल्याउने नीति व्यवहारिक नभएकाले आफूहरुले कामकाज ठप्प पार्नुपरेको एजेन्टका भन्सार प्रतिनिधि सुनिलकुमार कमलले बताए ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख शेखरबाबु कार्कीले सरकारले ल्याएको नियम आफूहरुले कार्यान्वयन मात्र गरेको बताए ।
उनले साउन १ देखि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लागू भैसकेको जानकारी दिए ।
वाह्य मुलुकबाट नेपाल भित्रिने र नेपालबाट बाहिरिने विभिन्न सामग्रीको कागजी प्रक्रिया पुर्याएर मालसामान सम्बन्धित ठाउँमा पुर्याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र प्रतिनिधिले काम बन्द गरेपछि समस्या उत्पन्न भएको छ ।
भारतबाट नेपालमा दैनिक उपभोग्यलगायतका सामग्री आयात नभएपछि बजारमा ती वस्तुको अभाव हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्