
काठमाडौं, कात्तिक १७ । नेकपाभित्रको रडाको उत्कर्षमा पुगेको छ ।
पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटेको विषयलाई लिएर विवाद सुरु भएपनि नेकपाभित्र चर्किएको विवादले अहिले पार्टी नै फुटको संघारमा पुगेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने चेतावनी दिएको आरोप लगाएका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेताहरुलाई ‘ब्रिफिङ’ गरेपछि दोस्रो तहका नेताहरु भने पार्टी एकता जोगाइदिन हारगुहार गरिरहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले आइतबार नेकपा फुटको संघारमा पुगेको संकेत गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ‘पार्टीको एकीकृत अस्तित्व गम्भीर मोडमा पुगेको’ ट्वीट गरेसँगै नेकपाका दोस्रो तहका नेताहरुबाट पार्टी जोगाइदिन हारगुहार गर्दै एकपछि अर्को अभिव्यक्ति सार्वजनिक भएका छन् ।
पार्टी महासचिव पौडेलले आइतबार पार्टी एकता रक्षाका लागि पार्टीपंक्तिसँग आग्रह गर्नुभयो भने सोमबार बिहानै स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएरमात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउनुपर्ने माग गर्नुभयो ।
उता, नेकपा सचिवालय सदस्य रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने नेकपामा पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नेहरुले नै पार्टी विभाजन गर्न लागेको आरोप लगाउँदै खबरदारीका लागि गुहार्नुभयो ।
हालको परिस्थितिमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बल्झिएको विवादले पार्टी एकतालाई नै दुर्घटनामा पुर्याएको टिप्पणी गर्नुहुन्छ, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली ।
त्यसो त कर्णाली प्रदेश प्रकरणमा दाहाल–नेपाल खेमाले एकलौटी निर्णय गर्दा पार्टी एकताको अस्तित्वमाथि प्रहार गरेको निष्कर्ष निकाल्दै ओलीले कमिटीका बैठकको निर्णयको औचित्य नै नभएको बताउनुभयो ।
ओलीनिकट मानिने नेकपा नेता गोकुल बाँस्कोटाले त नेकपाभित्रको विवाद लेनदेनको व्यापारिक स्वार्थमा अडेकोले सैद्धान्तिक धरातलबिनाको विवादको औचित्य नभएको टिप्पणी गर्नुभयो ।
तर, नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने अध्यक्षद्वयका स्वार्थले पार्टी एकता गम्भीर मोडमा पुगेकाले कमिटीका बैठकबाट समाधान खोजिनुपर्ने बताउनुहुन्छ ।
झन्डै डेढ महिनाअगाडि ठूलो संकट पार गरेर आएको नेकपामा फेरि उस्तैखालको राजनीतिक संकट पैदा भएको छ ।
यो पुनः बैठक वा दुई अध्यक्षबीचको सहमतिमा नै टुंगिन्छ वा महासचिवले भनेजस्तै फुटतर्फ उन्मुख हुन्छ, दुवै समूहले चाल्ने अबका कदममा भरपर्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्