२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१५ महिनामा सक्ने काम १० वर्षसम्म पनि पूरा नगर्ने ६ वटा ठेकेदारको सम्झौता रद्द


0
Shares

वीरगन्ज । पर्सामा विभिन्न आयोजना ठेक्का लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्न थालिएको छ ।

१५ महिनामा सक्ने काम १० वर्षसम्म पनि पूरा नगर्ने ६ वटा ठेकेदारको सम्झौता रद्द गरिएको छ ।

पर्साको भेडिहारी, शंकरसरैया, सम्भौता, पटेर्वासुगौली, रौतहटको जिगडवा बेलगछियाको स्वास्थ्य चौकी भवन र कलैयाको चार परिवार स्टाफ क्र्वाटर निर्माण गर्न २०६६ सालमै ठेक्का सकार गरे पनि काम नगरेकाले सम्झौता रद्द गरिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी अमरेन्द्रकुमार झाले जानकारी दिए ।

उनले पटक–पटक म्याद थपिए पनि निर्माण कार्यमा खासै प्रगति नदेखिएपछि स्वस्तिक श्रीविनायक कन्स्ट्रक्सन, अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी, शिवराम कन्स्ट्रक्सन प्रालि, टौदह कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गर्न केन्द्रमा सिफारिस गरिएको बताए ।

ठेक्का रद्द गरिएका निर्माण कम्पनीसँग २ करोड ८० लाख रुपैयाँ हर्जाना असुल गर्न पत्राचारसमेत गरेको जनाइएको छ ।

ती योजनाको काम अघि बढाउन पुनः नयाँ प्रक्रिया सुरु गरिने सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्झौता अवधिभित्रै काम नगर्ने प्रवृत्ति अन्त्य गर्न कारबाही सुरु गरिएको बताए ।