सत्यको खोजीमा लाग्नेहरुको सुरक्षा र दण्डहीनताले निम्त्याएको खतरा « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


सत्यको खोजीमा लाग्नेहरुको सुरक्षा र दण्डहीनताले निम्त्याएको खतरा


0
Shares

-हरिविनोद अधिकारी

ग्रेगरियन पात्रोअनुसार अहिले नोभेम्बर महिना हो । नोभेम्बर महिनाका लागि विश्वभर पत्रकारको सुरक्षाका लागि अभियान चलाउने महिनाको रुपमा लिइन्छ । हुन त जहिले पनि पत्रकारको सुरक्षाका लागि पत्रकारसहित सबै तप्काका मानिसहरु लाग्नु नै पर्छ । तर एउटा भनाइ के छ भने पत्रकारहरुलाई मार्नेहरु, दुःख दिनेहरु, समाचार लुकाएर सत्यको घाँटी निमोठ्नेहरु सखल्ल र फुर्तीसाथ समाजमा हिँडिरहेका हुन्छन् र सत्तामा पनि उनीहरुको भित्रैसम्म पहुँच भएको देखिन्छ विश्वभर । खासगरी प्रजातान्त्रिक देशहरुमा सत्यको घाँटी निमोठेको चाहिँ देखिन्छ, पत्रकारहरुमाथि पीडा दिने पनि देखिन्छ तर त्यसको न त खोजी हुन्छ, न त कुनै कार्बाही हुन्छ । त्यसकै लागि , पत्रकारहरुमाथि हुने ज्यादती र पीडा दिने पीडकमाथि कार्बाही होस् भनेर सत्यको खोजी गर्न अनि सत्यको पक्षमा काम गर्न प्रचारात्मक काम पनि यही नोभेम्बरमा गरिँदै आएको छ ।

पत्रकारिता समाजको त्यस्तो एउटा सेवा हो जसले वाणीविहीनको आवाजको काम गर्छ । सामाजिक न्याय नपाएकाहरुका लागि सामाजिक न्यायको प्रत्याभूतिका लागि निरन्तर र अनवरत आवाज दिइरहेको हुन्छ विना डर र त्रास । तर त्यहाँ डर र त्रासको भावना भने प्रचूरमात्रामा संग्रहित यसकारणले हुन्छ कि जसका कारणले आम जनताले दुःख पाएका हुन्छन्, ती सही विचार, समाचार र टिप्पणीले तिनको स्वार्थमा धक्का लागेको महसुुस गरेका हुन्छन् । जसरी हुन्छ, आफ्नो स्वार्थको पक्षमा रक्षा कबच भनेको तिनले पत्रकारको कलम, माइक, कम्प्युटर मात्र भौतिकरुपमा ध्वस्त बनाउँदैनन्, सूचना सङ्कलक पत्रकार, सूचना प्रसारक तथा प्रचारक अनि प्रकाशक समेतलाई भौतिक रुपमा सफाया गर्ने गर्छन् ।

विगत एक दशकमा १ हजारभन्दा बढी पत्रकारहरुको हत्या भएको छ र त्यसबाट करिब ४ हजारभन्दा बढी व्यक्तिहरु प्रभावित भएका छन् । नेपालमा मात्र यो एकवर्षमा १७५ जनाभन्दा बढी पत्रकारहरु हिँसाको मारमा परेका छन् जसबाट ५०० भन्दा बढी सञ्चारकर्मीहरु प्रभावित भएका छन् । तिनका न्यायका लागि खासै केही भएको पाइएको छैन । राज्य संवेदनहीन भएको देखिन्छ भन्ने पीडित परिवारहरुको धारणा छ । या त राज्य दण्डहीनताको विपक्षमा स्पष्ट उभिन खोजेको छैन, या त दण्डहीनताले यस्तो स्वरुप लिइसक्यो कि त्यसका विरुद्धमा समाज एकजुट भएर उठ्नु जरुरी छ सरकारलाई सहयोग गर्न वा सरकारलाई सतर्क बनाउन ।

नेपालमा कोभिड १९को महामारी भित्रै १७५ पत्रकारहरु विभिन्नरुपमा प्रताडित भएका छन् जसमा महिला पत्रकारहरुको संख्या १६ छ । फ्रिडम फोरमले गरेको अनुगमनले देखाउँछ पोहोरको नोभेम्बर देखि यो अक्टोबरसम्ममा झन कोभिडका कारणले कति पत्रकारहरु सेवाविहीन भएका छन् र तिनको रोजीरोटीको समेत भाग खोसिएको छ ।

एक्काइसौँ शताब्दीलाई धेरै आशा र अपेक्षाका साथ हेरिएको थियो । २०२०को पनि अन्त्य हुन अब एक महिना र केही दिनमात्र बाँकी रहँदा एक चौथाई समयले त्यस्तो कुनै चमत्कारको सङ्केत गरेन । अझ झन सूचना प्रविधिको विकासको क्रमसँगै सूचनालाई जनसमक्ष पुर्‍याउने सञ्चारकर्मीहरुको भौतिक सुरक्षामा भने धेरै चुनौती थपिएको छ । अझ खासगरी सूचना सम्पादन गर्दै जनतालाई सुसूचित गर्ने आफ्नो लक्ष्य, पेसा र व्यवसाय बनाएर काम गर्ने पत्रकार झन झन असुरक्षित हुँदै गएको तथ्य देखा पर्दैछ । पत्रकार जसले पत्रकारिता क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएर सूचना सम्प्रेषण गर्छ, त्यही अत्यावश्यक सूचना सम्प्रेषण गरेबापत नै असुरक्षित हुनु पर्दाको पीडा कस्तो होला ? तर विश्वमा अनि नेपालमा पनि यो दुई दशकमा भएका घटनाले कसरी पत्रकार र पत्रकारिता क्षेत्रलाई सुरक्षित राख्न सकिन्छ भन्ने चुनौती थपिएको छ ।

पत्रकारिता एउटा सबैखाले सूचना सम्प्रेषण गर्ने जोखिमयुक्त पेसा हो र पत्रकार नै त्यसको नायक हो जसले त्यो सूचना जनताको आवश्यकताको लागि विना स्वार्थ खोजेर ल्याउँछ । खोज्छ मात्र होइन, खोज्दा धेरै व्यक्ति तथा सँस्थाहरुका स्वार्थसँग उसले जुध्नुपर्ने हुन्छ । ती गलत प्रबृत्त्तिको खुलासा गर्दा ती व्यक्ति तथा सँस्थाको पोल खुल्छ । नकाब उघ्रँदा उनीहरुको समाजमा रहेको कृत्रिम मानभाउ घट्छ मात्र होइन , कानुनी दायरामा समेत आउने सम्भावना बढ्छ ।

निर्वाचनका बेलामा, युद्धका बेलामा र अवैध व्यापारका चाहे ती मानव तस्कर या लागू पदार्थ या हतियार आपूर्तिका काम हुन् या अन्य कुनै असामाजिक, देशद्रोही व्यवहार हुन् । तिनको पोल खुल्दा मुलुकलाई फाइदा हुन्छ, समाज शुद्धीकरणतर्फ लाग्छ तर अनुसन्धाता पत्रकार भने जोखिममा पर्छ । आक्रमणमा पर्छ । कुनै घटनामा आगामी अनुसन्धान ठप्प हुन्छ, कुनै घटनामा भौतिकरुपमा आक्रमण गरेर अपाङ्ग बनाइन्छ र धेरै घटनामा कुनै पनि प्रमाण नदेखिने गरी पत्रकारको हत्या गरिन्छ ।

एउटा प्रतिनिधि पात्रका रुपमा र चर्चित घटनाको रुपमा साउदी अरबियाबाट विस्थापित भएर संयुक्त राज्य अमेरिकामा पत्रकारिता पेसा अँगालेर बस्ने जमाल खसोग्गीको घटना अझै नसुल्झिएको अवस्थामा ताजा छ । उनी टर्कीको साउदी महावाणिज्य दूतावासमा गएको प्रमाण छ तर उनी फर्केका छैनन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हत्या भएको छ भन्छन्, साउदी युवराजसमेतले जमालको हत्या भएको स्वीकार गर्छन् तर लास कहाँ छ , कसले हत्या गरेको हो भन्न सक्दैनन् । सरकारको कूटनीतिक कार्यालयमा प्रवेश पाउनु भनेको त्यति सहज छैन र पनि त्यही भवनमा अनुमति लिएर प्रवेश गरेको साउदी नागरिक तथा वरिष्ठ पत्रकार जमाल खसोग्गीको अवस्था अज्ञात छ ।

यदि खसोग्गी फुत्त बाहिर आउन पनि सक्छन्, अथवा उनको लास बाहिर देखिन पनि सक्छ या अज्ञात अवस्थामै यो घटना सेलाउन पनि सक्छ जवकि विश्व जनमतले यसको उत्तर साउदीसँग मागिरेहेको छ र साउदी अरब आफैँ किँ कर्तव्य विमूढ भएको देखाउँदैछ । यस्तै घटना अहिले भारतमा, सिरियामा, रुसमा अनि टर्कीमा घटिरहेका छन् । विश्वभर पत्रकारहरुमाथि घट्ने यस्ता घटनामा सरकारहरु कानमा तेल हालेर बसेका पाइन्छन् ।

सत्यको घाँटी निमोठ्नका लागि सहज उपाय रहेछ पत्रकारिताको घाँटी निमोठ्नु । यो अहिलेको महामारीमा दिनैपिच्छे नयाँ नयाँ हल्लाका समाचारहरु आउँदैछन् । कसैले भन्छ कोभिड१९को ओखती पत्ता लाग्यो । कसैले भन्छन् -अझै ६ महिनासम्म आउने सम्भावना छैन । भनिन्थ्यो- सेप्टेम्बरमा त बजारमा नै आउँछ । अनि अहिले भनिँदैछ, कहाँ हुनु भर्खर तेस्रो चरणमा छ ।
चाहे कोरोनाको वारेमा जानकारी दिन थाल्ने भन्नुस् , या कोरोनाले लाखौँ मानिसहरु मरे भन्ने समाचारको कुरा गर्नुस् या यसबाट बच्ने कुनै उपायका वारेमा भन्नुस् , सबैको जानकारी त हामीले पत्रकारबाटै थाहा पाएका हौँ । कुन देशले कति तत्परताका साथ जनताको स्वास्थ्यको वारेमा व्यवस्था गरेको छ, कुन देशले बढीभन्दाबढी कोभिड-१९को परीक्षण गराएको छ र कुन देशका बढीभन्दाबढी महामारीको वारेमा जनस्तरमा सेवा दिएको छ भन्ने कुराको जानकारी दिने पनि पत्रकार नै हुन् ।

यसबिचमा धेरै देशको स्वास्थ्य स्थितिका वारेमा, स्वास्थ्य सेवाको वारेमा कतिसम्मको हेलचेक्र्यार्इँ हुन्छ र कतिसम्मको कोरोनाको नाममा जनतामाथि अत्याचार हुन्छ भन्ने कुरा पनि पत्रकारले नै जानकारी दिएका छन् ।

अनि ओखती बन्दैछ कहिले बन्छ र कहिले हामीजस्ता सर्वसाधारणको पहुँचमा आउला भन्ने कुराको जानकारी दिने पनि पत्रकार नै हुन् तर अहिले विश्वभर पत्रकारिताको अवस्था नाजुक भएको छ । सूचनामा पहुँच हुनेले सूचना दिँदैनन्, लुकाउँछन् । जनस्वास्थ्यका वारेमा समेत सूचना लुकाउँछन् । एकातिर भन्छन् लोककल्याणकारी राज्यको गफ हाँक्छन् अनि कोरोनाको महामारीमा जनताका लागि कति खर्च गरियो , अनि किन सेवा प्रवाह हुन सकेन भनेर सोध्यो भने पत्रकारमाथि हमला हुन्छ, भौतिकरुपमा पनि , मानसिक रुपमा पनि ।

संसारभर पत्रकारिताको अवस्था नाजुक देखिन्छ । संसारमा प्रत्येक वर्ष एकजना पत्रकारले राम्रो काम गरेबापत पुलित्जर पुरस्कार पाउँछ अनि जनताको सेवा गरेबापत औसतमा एकसय पत्रकारहरु गोली हानेर मारिन्छन् । यसो गरेको किन हो भने यसले सत्यको मुख थुन्न सकिन्छ । लेख्ने कलम भाँच्नुभन्दा, बोल्ने माइक्रोफोन फुटाउनु भन्दा, लेख्ने कम्प्युटर फुटाउनु भन्दा पत्रकारमाथि नै जाइलाग्यो, मार्‍यो, खेल खत्तम । न रहे बाँस , न बजे बाँसुरी । भ्रष्टाचारका विरुद्धमा होस् कि नयाँ नयाँ राजनीतिक रहस्य पत्ता लगाउनमा होस् , पत्रकारहरु लागिरहेका हुन्छन् र संसारलाई सत्यको उद्घाटन गरिरहेका हुन्छन् ।

हामी प्रत्येक वर्ष नोभेम्बर २लाई पत्रकार विरुद्ध गरिने कुनै पनि अपराधका विरुद्धको सम्झना गर्नका लागि , गरिने कुनै पनि मानसिक तथा भौतिक हमलाको विरोध गर्नका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छौँ । हो के भने अपराध हुन्छन् पत्रकारविरुद्ध अनि ती अपराधीहरुलाई कुनै दण्ड हुँदैन । दण्डविहीनताले गर्दा अपराधीहरु फेरि फेरि पत्रकारमाथि जाइलाग्न प्रोत्साहित हुन्छन् र समाजमा एउटा भयको सृजना हुन्छ जसले पत्रकारहरुले सत्य खोज्ने कुरामा व्यवधान हुन्छ ।

नेपालमा पनि दण्डविहीनताको लामो शृंखला छ । जनयुद्धका बेलामा जनयुद्ध सञ्चालक र राज्यबाट भएका पत्रकारविरुद्धका अपराधको अझै समाधान भएको छैन । त्यो बेलाको त्रासदी अझै स्मृतिमा छ र केही अपराधीले दण्ड पाएको त देखिन्छ तर दण्डविहीनता वा दण्डहीनता नै समस्याको रुपमा देखिएको छ ।

सानासाना कुराबाट पत्रकारितामाथि हमला भएको छ । पत्रकारमाथि हमला भएको छ मानसिक र भौतिकरुपमा । पत्रकार समाचारको खोजीमा जान्छ । समाचारको जडमा पुग्न खोज्छ । जगमा पुग्न खोज्दा धेरै जनासँग सम्पर्क गर्नुपर्छ । खोजी गर्दा सत्य सामुन्ने आउँछ । त्यो सत्य पचाउने प्रजातान्त्रिक वा सहिष्णुताको क्षमता समाचारको पहुँचमा भएका वा गलत काम गर्नेहरुसँग हुँदैन । सरकार स्वयं असहिष्णु भएको देखिन्छ । अहिले त सरकार गाउँमा पनि छ, प्रदेशमा पनि छ र केन्द्रमा पनि छ । प्रत्येक सरकारले गर्ने कामको सार्वजनिक सोध खोज पत्रकारले गर्ने नै भए ।

सूचनाको हकले पनि त्यो अधिकार आम जनतालाई दिएको छ । त्यसको अधिकार प्रयोग पत्रकारले पनि गर्ने नै भए । अनि सत्पको असलीरुप जब समाचारको रुपमा सत्य बाहिर ल्याएपछि असहिष्णु व्यक्तिहरुबाट पत्रकारमाथि सबैखालका अपराध गरिन्छन् । अनि त्यही अपराध रोक्ने अनि अपराधअनुसारको दण्ड दिइनु पर्ने आम पत्रकारको सुरक्षाको कुरा हो ।

संयुक्त राष्ट्रसंघले त नोभेम्बर २लाई सम्झनास्वरुप दण्डहीनता विरुद्धको दिवस भनेर तोक्नेमात्र हो, हामी पत्रकारहरुले नै आफ्नो सुरक्षाको चाँजो पाँजो मिलाउने हो जसका लागि सरकारले पनि संवेदनशील भएर पत्रकार विरुद्धको कुनै पनि काम हुन नदिने कुरामा तदारुकता देखाउनु पर्छ । अनि मात्र पत्रकार विरुद्ध गरिने कुनै पनि अपराधको दण्ड पाउने छन् । दण्डहीनताले पत्रकारविरुद्ध गरिने अपराधले मौलाउने मौका पाएको हो ।

प्रजातन्त्रको सबैभन्दा ठुलो विशेषता भनेको या महत्व भनेको नै सबैले समान अधिकार पाएका हुन्छन् र झन पत्रकाकरले सत्यको उद्घाटन गर्ने भएकाले अलि बढी नै अधिकार प्रयोग गर्न पाउने चलन हुन्छ । सत्यको घाँटी ननिमोठियोस् भन्ने कुरामा समाज पनि चनाखो हुनुपर्छ । नागरिक समाजले पनि खबरदारी गर्नुपर्छ पत्रकारको पक्षमा । पत्रकारहरुका राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुले पनि यसमा संगठित भएर आफ्ना सदस्यहरुको सुरक्षामा लाग्नु जरुरी छ । न्याय नपाएका पत्रकार तथा उनका परिवारहरुका पक्षमा एकातिर दण्डहीनता नहोस् भन्ने र अर्कोतिर पीडितहरुका लागि न्याय र क्षतिपूर्ति सबै खालको व्यवस्थामा सरकार पनि लाग्नुपर्छ, नागरिक समाज पनि लाग्नुपर्छ ।

कोभिड-१९मा समाजका अन्य पक्षसँग पत्रकारिता पक्ष , पत्रकारहरु अप्ठ्यारामा परेका छन् । उनीहरुको काम खोसिएको छ , माम खोसिएको छ र विश्वको आर्थिक मन्दीमा पत्रकारकाहरुको जीवन धान्न पनि मुस्किल भएको छ । यस्तो महाव्याधिमा कसरी पत्रकारितालाई जोगाउने भन्नु नै पत्रकारहो सुरक्षाको प्रश्न हो । समाजका सबै तप्काले, विश्वका सबै खालको मानव अधिकारका रक्षक संस्थाहरुले पत्रकारिताको यो जोखिमपूर्ण अवस्थामा सत्यको घाँटी न निमोठियोस् भनेर संवेदनशील हुनु परेको बेला छ । दिवस त यो महामारीमा आयो अनि जान्छ पनि तर महामारीका बिचमा नै पत्रकारिताको भविष्यको समेत सोच्ने बेला आयो नि, हैन र ? सुरक्षाको प्रश्न, पत्रकारविरुद्धको अपराधकामा शून्य सहनशीलताको प्रश्न अनि पत्रकारको विरुद्धको आवाजका लागि बोल्नेको सुरक्षाको प्रश्न सबै यसै मेसोमा आउने कुरा हुन् । दण्डहीनताले मौलाएको अपराधलाई कसरी कमी गर्ने भन्ने नै यो दिवसको अर्थ हो कि त ?

र अन्त्यमा,

प्रजातन्त्र भनेको सहिष्णुताको मापन भएको राज्य व्यवस्था हो । राज्यमा सरकारदेखि सबै नागरिकहरु सहिष्णु हुनु जरुरी छ । पत्रकारिता पनि तथ्यमा आधारित र सत्यको खोजीमा लागेको हुुनु जरुरी छ । तर पनि तथ्यगत र असत्य समाचार भए त्यसको पनि खण्डन गर्ने र सुधार्ने व्यवस्था हुन्छ । तर पत्रकारमाथि नै आक्रमण गर्ने , मार्ने अनि पत्रिका वा रेडियो वा टेलिभिजन वा अनलाइनको कार्यालयमा नै आक्रमण गर्ने असहिष्णु व्यवहार कतैबाट हुुनु हुँदैन भनेर ने सचेतना जरुरी छ ।

पत्रकारको सुरक्षामा पत्रकारको भन्दा बढी चासो सरकारले देखाउनु पर्छ । तर सरकार उदासीन छ भनेर पत्रकारहरु नै भन्ने गर्छन् । अनि पत्रकारका सस्थाहरु पनि कति सक्रिय छन् भनेर समीक्षा गर्नु जरुरी भएको छ । आफ्ना वारेमा आफैँ बढी सक्रिय भएमा पक्कै पनि सुरक्षाका लागि नयाँ नयाँ उपाय अपनाउन सकिन्छ होला ।

पत्रकार विरुद्धका अपराधमा कार्बाही हुन नसकेका घटनामा दण्डहीनता मौलाएकाले गम्भीरताका साथ पत्रकारिता जोखिममा छ भनेर छानबिन गराउन र पीडकलाई कार्बाही होस् भनेर हामी लागेका छौँ । नोभेम्बर २लाई त्यसका लागि अन्तर्राष्ट्रिय दिवस समेत मानेर मनायौँ र अनवरत पत्रकारको सुरक्षाको अभियानमा लागिरहनु आवश्यक छ । यसमा पत्रकार महासंघको र पत्रकारका लागि खोलिएका सँस्थाहरुको निष्पक्ष संलग्नता अति नै आवश्यक छ ।

यसका लागि संघीय नेपालका सातैओटा प्रदेशमा जनचेतना जगाउन र सरकारलाई यसबारे सल्लाह, सुझाब र सजग गराउन प्रदेश सरकारका मन्त्रीहरुलाई समेत संलग्न गराउँदै कार्यक्रमहरु भइरहेका समाचारहरु आइरहेका थिए तर यसपटक कोरोना कहरले गर्दा सम्भव भइरहेको देखिँदैन तर यो अनवरत भइरहने प्रयास हो । भविष्यमा पनि भइरहने छन् जबसम्म पत्रकारहरुको सुरक्षाको प्रत्याभूति हुँदैन ।

पत्रकारको कलम, ल्यापटप,कम्प्युटर, माइक, बोलाइलाई रोक्दा अभिव्यक्ति स्वतन्त्रताको हनन मात्र हुँदैन, जनताको निर्वाध सूचना पाउने हकसमेत कुण्ठित हुन्छ । यसलाई सम्झाइरहनु भन्दा पनि नेपालको संविधानले दिएको मौलिक हकको व्यवस्थालाई सरकारले संरक्षण गरे पनि हुन्छ । तर पत्रकारका वारेमा अझै नकारात्मक भावना देखिन्छ भन्ने कुरा कतिपय जिम्मेवार व्यक्ति तथा सँस्थाहरुबाट हुने गरेका काम कार्बाहीले स्पष्ट पारेको छ ।

प्रजातान्त्रिक समाजमा पत्रकारिताले नै सही र निष्पक्ष समाचार तथा विचार विश्लेषण दिने गर्छ । त्यसैले पनि निर्वाधरुपमा अभिव्यक्ति स्वतन्त्रताका अवस्था रह्यो भने मात्र पत्रकार निडर , निर्भीक र तथ्यपरक समाचार विचार विश्लेषण दिनसक्ने अवस्थाको हुन्छ । हाम्रो परिवेश पनि अब पत्रकार विरुद्धमा हुने कुनै पनि अपराधलाई असहिष्णु बनौँ र कार्बाहीका लागि नागरिक समाज, पत्रकार र सरकारको एकीकृत प्रयास सुरु गरौँ ।

आउँ सबै एकैठाउँमा बसेर बोलौँ , चेतना बाँडौँ । नागरिक समाज, पत्रकारहरु र सचेतना दिने प्रत्येक समूह र व्यक्तिहरु पत्रकार विरुद्ध हुने अत्याचार र पीडाका विरुद्धमा बोलौँ र सत्यको घाँटी निमोठ्नेहरुमाथि धाबा बोलौँ र नेपालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा खुलेर लागौँ ।