१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


बाढीले सीमा स्तम्भहरु ढालेपछि निरीक्षणमा पुग्यो सशस्त्र प्रहरीको टोली


0
Shares

कपिलवस्तु  । प्रदेश ५ का सशस्त्र प्रहरी प्रमुखको टोलीले कपिलवस्तुको सीमा क्षेत्रमा बाढीका कारण ढलेका स्तम्भहरुको निरीक्षण गरेको छ ।

बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भको सशस्त्र प्रहरी प्रदेश ५ का प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेल नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।

नेपाल–भारत सीमाअन्तर्गत विजयनगर गाउँपालिका–७ ठाकुरापुरनजिकका ४ वटा सीमा स्तम्भको अवलोकन गरी यसको अवस्थाको बारेमा सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी गराएको पौडेलले बताए ।

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा गत मंसिरदेखि जेठसम्ममा यी स्तम्भको निर्माण गरिएको थियो । तर, केही दिनअघिको बाढीले ती सीमास्तम्भ ढलेका थिए ।

ढलेका चार स्तम्भमध्ये दुई वटा नेपालतर्फबाट निर्माण गरिएको र दुई वटा भारतबाट निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए ।

सीमा क्षेत्रमा रहेको नदीको बीचमा निर्माण गरिएका स्तम्भको डिजाइन नै गलत भएका कारण ढलेको भन्ने जानकारी आएको उनले बताए ।

कपिलवस्तुमा पर्ने ९३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा कुल ५ सय ३२ सीमा स्तम्भ राखिएका छन् ।

जसमध्ये ५०७ वटा निर्माण भइसकेका छन् र २५ वटा निर्माण हुन बाँकी छ ।

नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीले दुवै देशका सर्वेक्षण टोलीको अनुगमन प्रतिवेदनका आधारमा पुनर्निर्माणको काम अघि बढाइने बताए ।