
काठमाडौं, साउन ४ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लागू गरेको राजस्व अनुसन्धान विभागले आगामी वर्ष सवारी–साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) सुरु गर्ने जनाएको छ ।
विभागले आगामी आर्थिक वर्षदेखि भन्सारबाट नेपाल भित्रिने सबै सवारी–साधनमा जीपीएस लागू गर्ने जनाएको हो ।
यो प्रणाली लागू गरेसँगै कारोबारमा पारदर्शीता बढ्ने विभागले जनाएको छ ।
यो प्रणालीअन्तर्गत् स्वदेशमा भित्रिने कुनैपनि सवारी–साधानमा निश्चित उपकरण जोडिन्छ र सो उपकरणमार्फत् सवारी–साधनको अवस्थाबारे जानकारी लिइन्छ ।
जीपीएस आगामी वर्षदेखि सुरु गर्नेगरी काम अघि बढाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
यो प्रणाली लागू भएपछि कुनैपनि सवारी–साधन कुन अवस्थामा कहाँ छ र कहाँ जाँदैछ भन्नेलगायतका सबै सूचना विभागले प्राप्त गर्नसक्छ ।
प्रतिक्रिया दिनुहोस्