१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


थरीथरीका माग्ने (भिडियो)


0
Shares

प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, साउन ४ । देशको प्रचलित कानुनले सडकमा माग्न वा माग्न लगाउन वर्जित गरेको छ । मागे वा माग्न लगाएमा दन्डित गर्ने ऐन लागू छ ।

तर पनि काठमाडौंका सडकपेटीमा मागेर गुजारा चलाउनेहरुको संख्या भने अहिले पनि धेरै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकहरुलाई मगन्तेरहित बनाउने घोषणा गरेका छन् भने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि आफ्नो कार्यकालभित्रै महानगरलाई मगन्तेरहित बनाउने उद्घोष गरेका छन् ।

तर, व्यवहारमा भने त्यो देखिएको छैन । काठमाडौंका सडकपेटीहरुमा माग्नेहरु कम भएका छैनन् ।

कानुनले वर्जित गरेका माग्नेहरु कति छन् त भनी हाम्रो टोली काठमाडौंका मुख्य सडकहरुमा पुग्दा थरीथरीका माग्ने भेटिए । बालकदेखि वृद्ध, सपांगदेखि अपांगता भएकासम्म ।

उनीहरुले मागेरै जीविका चलाउने गरेको हामीले पायौं । स्कुल जाने उमेरको बालक पनि परिवारलाई सहयोग गर्नका लागि भन्दै सडकमा मागिरहेका देखिन्थे ।

मदिराले लठ्ठ परी परिवार नै सडकमा माग्न बसेको पनि भेटियो ।

सडकमा बाटै छेकेरसमेत माग्न बस्नेहरुको माग्ने तरिका भने फरक–फरक छन् । कोही गीत गाएर सहयोग माग्ने गर्छन् भने कोही डमरु बजाउँदै । कोही भने वडा कार्यालयको सिफारिस देखाउँदै ।

कोही कोही त सवारी–साधनको सिसा ढक्ढकाइरहेका त कोही हात जोडेर आफ्नो दुखेसो सुनाउन खोज्दै अरुको मन पगाल्ने प्रयासमा । यसरी मागेर बसेकाहरुको पनि आ–आफ्नो कहानी छ ।

सरकारले माग्नेलाई परिचयपत्र बनाइ निश्चित रकम उपलब्ध गराउने घोषणा गरे पनि यसबारे कुनै जानकारी नभएको माग्नेहरु बताउँछन् ।

काठमाडौंमा भारतबाट आएका माग्नेहरुसमेत धेरै छन् ।

मुलुकी अपराध संहितामा कसैले पनि माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । 

सरकारले माग्ने नियन्त्रण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको बताएपनि काठमाडौंमा माग्नेहरुको नियन्त्रण वा उचित व्यवस्थापन भने अझैपनि चुनौतीकै विषय छ ।

भिडियो हेर्नुहोस्