आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इलाममा साइकल यात्रा • Image Khabar Image Khabar


आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इलाममा साइकल यात्रा


प्रकाश नेपाल
१५ कार्तिक २०७७, शनिबार ०८:५१

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इलाममा साइकल यात्रा

इलाम । हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो ।

साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारासहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

हरियो कार्पेट झै लाग्ने चियाबारीहरुले इलामलाई हरियालीको पर्याय बनाएको छ । पर्यटकीय सम्भावनाको अपार खानी रहेको इलाममा अब अर्को पर्यटकीय खेलले प्रवेश पाएको छ ।

इलामका डाँडाकाँडा र गोरेटोहरुमा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मजा पनि लिन पाइने भएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङबाट सुरु भएको सामुहिक साइकल यात्राका साइकल यात्रीले इलाममा आइपुगेपछि साइक्लिङले कोरोना कहरमा शुन्य रहेको पर्यटन क्षेत्रमा केही हदसम्म भएपनि गति लिने विश्वास व्यक्त गरेका थिए ।

पहाडमा साहसिक साइकल यात्राका लागि राम्रो सम्भावना भएकाले यात्रा रोमाञ्चकसमेत भएको यात्रुहरुको भनाइ छ ।

लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको साइकल यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्रीहरु सहभागी भएका थिए ।

ताप्लेजुङको सुकेटारदेखि सुरु भएको चार दिने साइकल यात्रा द हिमालयन माउण्ट बाईक विर्तामोडको सहयोगमा सञ्चालन भएको थियो ।

साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारीलगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेका थिए ।

इलामको अधिकांश गाउँ छिचोलेका उनीहरुले देखेको सम्भावनालाई सफलतामा परिणत गर्ने हो भने वास्तवमा इलामसहित पूर्वी पहाडले परिचयको नयाँ आवरण ओड्न पाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्