८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


केन्याबाट उद्धार गरिएका १२ नेपाली युवती आफन्तको जिम्मामा


0
Shares

काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ ।

उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आइओएमका प्रतिनिधिको रोहोबरमा शुक्रबार आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानकाक्रममा खुलेको छ ।

उनीहरु विभिन्न स्थानबाट बसमार्फत् पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ ।

केन्याको मुम्बासा सहरस्थित रंगिला डान्सबारमा काम गर्दै आएका उनीहरुलाई त्यहाँको प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो ।

उद्धार गरेर ल्याइएको युवतीलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो ।

केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरुलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । रासस