
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ३ । बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले लिएको छ ।
सत्तारुढ दलका नेताहरुले चन्द समूहसँग वार्ताको प्रयास भइरहेको प्रचार गरिरहेका बेला यो घटना भएको हो ।
बिहीबार साँझ धनगढीको चटकपुरस्थित नीलम होटलमा स्थानीय जितेन्द्र यादव र मोबिन खान खाजा खाँदै थिए । सोही समयमा झोला बोकेका दुईजना युवा आएर चिया ‘अर्डर’ गरे ।
ती युवा होटलमा छिरेको केही छिनपछि अचानक विस्फोटको आवाज आयो ।
होटल सन्चालक केशवराज पाण्डेले आफूले चिया बनाउँदै गर्दा ठूलो आवाज आएको र त्यसपछि आफ्नो कानबाट रगत बग्दा आत्तिएर बाहिर गएको बताए ।
घाइते जितेन्द्र यादव र मोबिन खान आफ्ना नियमित ग्राहक भएपनि झोला बोकेर आएका दुईजनालाई नचिनेको पाण्डेको भनाइ छ ।
विस्फोटबाट मृत्यु भएका राम सिंहको पछाडिको शरीरको आधा भाग क्षतविक्षत भएको थियो भने उनीसँगै रहेका लक्ष्मण सेराला पनि गम्भीर घाइते भए ।
उनीहरुसँगै होटल सन्चालक पाण्डे र नियमित ग्राहक जितेन्द्र यादव र मोबिन खान पनि घाइते भएका छन् ।
घटनापछि स्थानीय र प्रहरी मिलेर अस्पताल लगिएको स्थानीय व्यापारी विपिन सिंह बताउँछन् ।
बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका राम सिंहको उपचारकाक्रममा बिहीबार राति नै अस्पतालमा मृत्यु भयो ।
भारतबाट सात महिनाअघि घर फर्किएका सिंह पछिल्लो समय विप्लव समूहको गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कन्चनपुरको बेलडाँडी गाउँपालिका–५ का घाइते सेरला पनि रोजगारीका सिलसिलामा भारत बस्दै आएको र दुई महिनाअघि घर फर्केर विप्लव समूहमा लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
विप्लव समूहले विस्फोटमा मृत्यु भएका रामबहादुर सिंह आफ्नै कार्यकर्ता भएकोे पुष्टि गरे पनि लक्ष्मण सेरालाकोबारेमा भने केही बोलेको छैन ।
ठाउँ–ठाउँमा शृंखलाबद्धरुपमा ज्यानै लिनेगरी विस्फोटका घटना भइरहँदा सर्वसाधारणमा विप्लव समूहका गतिविधिबाट त्रास बढेको छ ।
प्रतिक्रिया दिनुहोस्