
कैलाली, साउन ३ । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा मृत्यु हुने रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ ।
विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज ‘निर्माण’ले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको जनाएका छन् । सिंहको गएराति उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।
घटनामा घाईते भएका कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सेरला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरे पनि विप्लव समूहले भने घाइते सबै ‘सर्वसाधारण’ रहेको जनाएकोछ ।
विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं ।’
घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिबद्धतासहित विज्ञप्तिमा अस्पताल परिवार तथा उपचारमा संलग्न चिकित्सकलाई घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्