रेड किवीको मूल्य घट्यो, वाइन र जुस बनाउन उपयोगी • Image Khabar Image Khabar


रेड किवीको मूल्य घट्यो, वाइन र जुस बनाउन उपयोगी


प्रकाश नेपाल (इमेज)
१२ कार्तिक २०७७, बुधबार १५:१४

रेड किवीको मूल्य घट्यो, वाइन र जुस बनाउन उपयोगी

इलाम, कात्तिक १२ । इलामका कृषकहरुले यतिबेला रेड किवी टिप्न सुरु गरेका छन् । लगातारको ‘लकडाउन’ले बजारमा समस्या भएपछि मूल्य कम पाएको कृषकको भनाइ छ ।

खाँदा गुलियो र फलमा झुस नहुने रेड किवी भदौ अन्तिम र असोजको पहिलो सातामै परिपक्व भइ पाक्ने गर्दछ । तर, बजारमा उचित मूल्य नभएकाले समस्या भएको उनीहरुको गुनासो छ ।

मनसुनले नछाड्दै उत्तरी इलामका कृषकहरुले रेड किवी टिप्न सुरु गरेका छन् । सिजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनका कारण किवीले विगतको जस्तो बजार नपाएको किवी कृषकको भनाइ छ ।

जिल्लामै पहिलोपटक व्यावसायिकरुपमा किवी खेती सुरु गरेका तारामणि खतिवडा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुहुन्छ ।

परिपक्व नहुँदै टिपेर बेच्न हतारिने किसानको विगतको बानीले किवीको बजार प्रभावित भएको छ । यो वर्ष उत्पादन सन्तोषजनक भएपनि मूल्य भने गत सालको तुलनामा आधा घटेको पाइन्छ ।

खाँदा गुलियो र फलमा झुस नहुने रेड किवी वाइन र जुस बनाउन उपयोगी मानिन्छ ।

गोल्डेन र ग्रीन किवीभन्दा रेड किवी चाँडै पाक्ने किवी कृषक भोलानाथ खतिवडाको भनाइ छ ।

इलाममा गत वर्षसम्म १५२ हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार भएको छ भने एक हजार २१५ मेट्रिकटन उत्पादन भएको छ । उत्पादनको करिब २० प्रतिशत रेड किवी उत्पादन हुने गरेको छ ।

किवी खेती प्रवर्द्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् किवी जोन आयोजनासमेत् सञ्चालनमा रहेको छ । किवी फलको प्रशोधन र मूल्य अभिवृद्धिका लागि भने ठोस पहल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्